। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।
विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।
हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा यो प्रणाली लागु गरिएको हो । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो कार्यान्वयन भएको हो ।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ । सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध गराइने छ ।
यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन । अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार दुई सय भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्ट लगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार सात सय हाराहारी छ । पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएको विभागको भनाइ छ ।