: सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन सुरु गर्ने भने तापनि स्याङ्जाको फेदीखोलाले वैशाख २ बाटै भर्ना अभियान सुरु गर्ने भएको छ।
फेदीखोला गाउँपालिकाले वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्ना अभियान र ९ देखि नियमित पठनपाठन गराउने भएको छ। फेदीखोला गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको र सोही अनुसार आवश्यक तयारी गर्न गराउन सुझाव दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी गराए।
सोही बमोजिमका वार्षिक शैक्षणिक योजना पनि शिक्षा शाखामार्फत सबै विद्यालयलाई पठाइने भएको छ। गाउँपालिकाले आफ्नो शैक्षिक क्यालेन्डरबमोजिम पठनपाठन गराउने भएको हो।
गाउँपालिकाले शिक्षा मन्त्रालयबाट जारी परिपत्रप्रति ध्यानाकर्षण जनाएको छ। अध्यक्ष सुवेदीका अनुसार ‘संविधान र कानुन अनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको उल्लेख गरेको छ। गाउँपालिकाले आफ्नो स्थानीय अवस्था अनुसार शैक्षिक योजना कार्यान्वयन गर्दै आएको जनाएको छ।
साथै, संघीय सरकारलाई शिक्षा सम्बन्धी निर्णयमा स्थानीय तहसँग पूर्वपरामर्श गर्न, स्थानीय सन्दर्भ अनुसार निर्णय गर्न दिन, परिपत्रलाई मार्गनिर्देशक मात्र बनाउन र तीन तहबीच समन्वय सुदृढ गर्न सुझाव दिएको छ।