मुख्य समाचार
सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति
सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति

— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ।

पछिल्लो पटक चैत १८ गतेसम्म सिद्धबाबा सुरुङमार्गको काम ६५.२७ भौतिक र ५८.६५ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा सुरुङमार्ग २०८३ चैत ८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको रहनेछ ।

सुरुङअन्तर्गत मुख्य टनेलको इन्भर्ट र लाइनिङको काम सकिएको छ । ११२६ मिटर टनेलमध्ये सुरुङ १०८९ मिटर रहेको छ । बाँकी काम उत्तर र दक्षिण ‘पोर्टल’ रहेको छ । उत्तरतर्फबाट ५१९ र दक्षिणतर्फबाट ६०७ मिटर रहेको योजना कार्यालयले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख नवराज बास्तोलाका अनुसार पछिल्लो समयमा आवश्यक कामहरू भइरहेको छ । सुरुङको उत्तर र दक्षिणतर्फको ३७ मिटर पोर्टलको काम अहिले भइरहेको छ । मुख्य सुरुङअन्तर्गत चौडाइ ९.९ मिटर, उचाइ ११.५ मिटर हुनेछ । दुई लेनको सडकमा जेट फ्यान १५ वटा रहनेछ । डिजाइनको आयु भने सय वर्ष रहेको योजना कार्यालयका प्रमुख बास्तोलाले बताए ।

६० किलोमिटर प्रतिघण्टा गतिमा सवारी चलाउन सकिने सुरुङमा दुईतर्फी, दुई लेन हुनेछ । ब्लाष्टिङ र ड्रिलिङ गरिएको सुरुगको तीन वटा बाइपास रहेका छन् । काम सुरु भएको मितिले १ हजार ८२५ दिनमा काम सम्पन्न गर्नुपर्ने हो । यो सुरुङको वारेन्टी, सञ्चालन तथा मर्मत सम्हार कार्य पनि ५ वर्षको सम्झौतामा उल्लेख छ । तर लुकेका दोष दायित्व अवधि भने १० वर्षको हुनेछ । नेपाल सरकारको आफ्नै श्रोतबाट सुरुङ निर्माण भइरहेको हो । योजना अन्तर्गत सिद्धार्थ राजमार्गको २ हजार ३ सय ९८ मिटर सडक सुधार गर्नुपर्ने छ । मुख्य सडक ९०४ मिटर, सुरुङको क्षेत्र ९ सय ४४ मिटर, मुख्य सडक थप ५५० मिटर सडक सुधार गर्ने सम्झौतामा छ ।

सकडको रक शेडको लम्बाइ ७८० मिटर, चौडाइ ५ मिटर र उचाइ ५ मिटर रहेको छ । यसको आयु सय वर्ष हो । बाइपास पहिलो १५१ मिटर, दोस्रो १ सय ६१ मिटर र तेस्रो १३० मिटर रहेको छ । यसको चौडाइ ३.४३ मिटर रहेको छ भने उचाइ ४.४ मिटर छ ।

उत्तर र दक्षिण प्रवेशद्धारमा दुई वटा प्राविधिक भवन निर्माणाधीन छ । सुरुङका लागि दक्षिण प्रवेशद्वारबाट विद्युत् आपूर्ति हुनेछ । सेन्सरसहितको बत्ती प्रणाली छ भने सेन्सरसहितकै भेन्टिलेसन हुनेछ । संकेत चिन्ह, भिडियो निगरानी, आगलानी पहिचान प्रणाली जडान हुने योजना प्रमुख बास्तोलले जानकारी दिए । कन्ट्रोल, सञ्चार, रेडियो र आपतकालीन टेलिफोन प्रणाली सुरुङभित्र रहेनछ । अर्थिङ, फाइबर अप्टिकल केबल, कपर (तामा) केवल प्रणाली हुनेछ भने भवनमा विद्युत् तथा हिटिङ कन्डिसनिङ, टेलिफोन, गेट, ढोका, डबल फ्लोर, पम्पिङ स्टेशन रहेनछ ।

व्यस्थित रूपमा राजमार्गमा रक शेड संरचना, ढुंगा खस्ने जोखिम न्युनिकरण, सडक मर्मत तथा पुनःस्थापना, ५ वर्षसम्म सेवा सञ्चालन तथा मर्मत सम्हार हुनेछ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र र सिद्धबाबा सुरुङ आयोजना कार्यालय बुटवले यसको अनुगमन गर्दै आएको उनले बताए । यसमा स्वीस विकास सहयोग र परामर्शदाता पिनी स्मार्ट इन्जिनियरिङले प्राविधिक सहयोग गर्दै आएका छन् ।

निर्माण कम्पनीले भित्रबाट गाडी गुडाएर मात्र बाहिरको काम गर्ने जनाएको छ । पछिल्लो समयमा बाइपासको काम केही समयदेखि रोकिएको छ । बाइपास १ मा इन्भर्टको काम १ सय ५१ मध्ये १ सय ४५ मिटर सकिएको छ । लाइनिङको काम पनि १४४.५ मिटर भइसकेको छ । बाइपास २ मा १ सय ६१ मध्य इन्भर्टको काम १५७.८ मिटर भइसकेको छ भने लाइनिङको काम १५७.८ मिटर भइसकेको छ । बाइपास ३ मा १ सय ३० मध्ये इन्भर्टको काम १२५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १२४.८ मिटर सकिएको आयोजना कार्यालयले जनाएको छ ।

बाहिर भीरपाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुने भएकाले पहिले मुख्य टनेलबाट सवारी साधन गुडाउने अवस्था पुर्याउने आयोजना कार्यालयको छ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’ मा भइरहेको छ । सिद्धबाबाको अति जोखिम झन्डै ५ किलोमिटर क्षेत्रमध्ये सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सुरुङ निर्माण भइरहेको हो ।

सिद्धबाबा क्षेत्रको जोखिमयुक्त क्षेत्रमा स्लोप स्टेबलाइजेन र रक ब्यारियर विधि प्रयोग गरेर सडक सुरक्षित बनाउने कामसमेत अघि बढेको छ । सम्भावित दुर्घटनाको क्षेत्रमा ढुंगाहरू हटाइनेछ भने पहाडको माथिल्लो भागमा बलियो तारजालीसमेत बिच्छ्याउने कार्य हुनेछ । जसबाट पहिरो सम्भावित क्षेत्रलाई स्लोप प्रोटेक्सनको काम गरिएको छ । योजना अन्तर्गत नै पहाडमा रक ब्यारिएर हुनेछ । सुरुङ क्षेत्रको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५ मिटर स्लोप प्रोटेक्सनको काम भइसकेको छ ।

उत्तरतर्फ ११०० मध्ये ४९५ काम सकिएको छ । एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१ मात्रै भएको छ । एमआरटू माउन्टेन साइट ७ हजार ४४० मध्ये १ हजार ४१४ स्वायर मिटर काम भएको आयोजना प्रमुख बास्तोलाले बताए । एमआर वन रिभरसाइड १३६० र एमआर टु रिभर साइड ५०० मिटरको काम प्रगति भएको छैन ।

आयोजनाको प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम हुनेछ । सडक पूर्वाधारको इतिहासमा सिद्धबाबा क्षेत्रमा ‘रक सेड’ निर्माण हुँदा पहिलो हुने दाबी छ । ‘रक सेड’ सवारी र सडकलाई पहिरोबाट सुरक्षित गर्ने प्रविधि हो । पहिरो जाने स्थानमा सडकमाथि आरसिसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाइन्छ । यसरी निर्माण गरिएको ‘रक सेड’ मा खसेका पहिरो छाना हुँदै खोला वा भिरमा पुग्नेछ ।

यसले गर्दा सवारी साधन, चालक, यात्रु तथा सडकलाई कुनै असर गर्दैन । छानामुनिबाट निर्वाध रूपमा सवारीसाधन आवागमन हुनेछ । सुरुङमार्गको दुवै पोर्टलमा धेरै पहिरो जाने भएकाले सुरुमा पोर्टलसंगै ‘रक सेड’ निर्माण गर्न लागिएको हो । सिद्धबाबा क्षेत्रमा ७८० मिटर लामो ‘रक सेड’ निर्माणको डिजाइन अघि बढेको छ ।

योजना कार्यालयका अनुसार बलियो तारजालीले ५ हजार किलोसम्मका ढुंगालाई थाम्न सक्षम हुने अपेक्षा गरिएको छ । सुरुङमार्गको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा वर्षायाम र सुख्खा मौसममा समेत ढुङगा खस्ने, माटो बगेर आउने र सुख्खा पहिरो समेत जाने समस्या हुन्छ । सामान्य वर्षामासमेत ढुङगा झर्ने समस्याका कारण बारम्बार थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । यस्ता समस्याको समाधान गर्न यस खण्डमा सुरुङ मार्ग बनाउने योजना बनाएको आयोजना प्रमुख बास्तोलले बताए ।

सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्राको सुविधा हुनेछ । यात्रा समय र दूरी घट्ने, सडक सुरुङ मार्ग निर्माणको प्रविधि हस्तान्तरण हुने छ । ट्राफिक दुर्घटनाहरू तथा सवारी सञ्चालन खर्च घट्ने मात्र नभई यातायात पहुँचमा सुधार भई आर्थिक लाभका अवसरहरू समेत सिर्जना हुने अपेक्षा गरिएको छ । सुरुङमार्ग सम्पन्न हुँदा लुम्बिनी र गण्डकी प्रदेशका दर्जन बढी जिल्लाका नागरिकले सुरक्षित यात्रा गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...
: लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । भारतको जोगवनीबाट खैरो हेरोइन खरिद गरेर आउँदै गर्दा धनकुटाको धनुकटा नगरपालिका–६ का २६ वर्षीय झुमबहादुर भुजेल पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट भुजेललाई शनिबार दिउँसो २ बजेतिर पक्राउ गरिएको जानकारी दिए ...