: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै ‘एक महिने जरामा जाऊँ अभियान’ को शुभारम्भ गरेका हुन् ।
क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ । संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले बताए । उनले पार्टीको सदस्यता लिइसकेपछि पार्टीको चुनाव चिन्ह बाहेक अन्त मतदान गर्न नपाइने स्पष्ट पारे ।
उनले कार्यसम्पादन समितिको बैठकबाट भातृ संस्थालगायतका बिषयमा महत्वपूर्ण निर्णय लिइने भन्दै पार्टी सम्पूर्ण रुपमा महाधिवेशनमा होमिएको उल्लेख गरे । पार्टीको विधानभन्दा बाहिर गएर पार्टीको अनुशासनभन्दा बाहिर गएर गर्ने कुरालाई संस्थाले स्वीकार गर्न नसक्ने उनले बताए । सभापति थापाले पार्टीभित्र अनावश्यक विवाद ननिकाल्न आग्रह गर्दै सवैलाई मिलाएर लैजाने प्रतिवद्धता समेत जनाए ।
त्यस्तै सभापति थापाले नयाँ सरकारले गर्न खोजेका विधिसम्मत कामहरूमा सम्पूर्ण रूपमा पार्टीको साथ र सहयोग रहने धारणा राखे । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न कांग्रेसले आग्रह गरेको छ । पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेसले जनाएको छ ।