: त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल यतिबेला निकै तनावमा छिन्। आउँदो १४ गतेदेखि १२ कक्षाको परीक्षा हुँदैछ। परीक्षाको तयारीमा रहेकी उनलाई परीक्षा कसरी दिनेभन्दा पनि परीक्षा दिन जाँदा कहाँ बस्ने ? कहाँ खाने ? कोसँग बस्ने ? भन्ने चिन्ताले सताइरहेको छ। परीक्षालाई मर्यादित बनाउने भन्दै सरकारले ‘होम सेन्टर’बाट परीक्षा दिन नपाउने नियम बनाएपछि उनले सदरमुकामबाट करिब ३० किलोमिटर टाढा रहेको दीपेन्द्र मावि कालाभुरमा गएर परीक्षा दिनुपर्ने भएको छ।
यातायातको असुविधा, भौगोलिक विकटताका कारण परीक्षार्थीहरू आउजाउ गर्न सक्ने अवस्था छैन। त्यहीँ डेरा लिएर बस्नुपर्ने अवस्था छ तर कालाभुरमा पातलो बस्ती भएकाले डेरा पाउन पनि समस्या र होटल पनि नभएका कारण आफूहरू समस्यामा परेको मल्लले गुनासो गरिन्। सोही विद्यालयकी छात्रा अनिता खत्रीले पनि ‘होम सेन्टर’ परिवर्तनका कारण आफूहरू मर्कामा परेको बताइन्। परीक्षा केन्द्र रहेको कालाभुर गाउँमा कोठा नपाएको र खानेबस्नेसमेत समस्या रहेको उनको गुनासो छ। गत वर्ष यस विद्यालयका विद्यार्थीले नजिकै रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसबाट परीक्षा दिएका थिए।
विद्यालय तहको अन्तिम परीक्षाको रूपमा रहेको कक्षा १२ को परीक्षा मर्यादित बनाउने भन्दै ‘होम सेन्टर’ परिवर्तनले विद्यार्थी असुरक्षित महसुस गरिरहेका छन्। खानेबस्ने र छात्राको सुरक्षा संवेदनशीलताको कारण धेरै विद्यार्थी र अभिभावक तनावमा रहेको त्रिभुवन माविका शिक्षक जनक केसीले बताए।
आफूले पढेका घरनजिकका विद्यालयको सट्टा टाढाका विद्यालयमा परीक्षा केन्द्र तोकिएपछि आर्थिक र मानसिक समस्या भइरहेको विद्यार्थी र अभिभावकको गुनासो छ। वर्षभरिको पढाइमा जोड दिनुपर्नेमा सिकाइ सुधार्ने नाममा परीक्षा केन्द्र परिवर्तन गर्ने कामले विद्यार्थीलाई मर्का परेको भेरी नगरपालिका–३ का अभिभावक दीपक खनालले बताए।
‘होम सेन्टर’ परिवर्तनले परीक्षामा सहभागी हुने विद्यार्थीले खाद्यान्न बोकेर केन्द्र नजिकका बस्तीमा कोठा खोज्न समस्या भइरहेको खनालले बताए। ‘सरकारी निकायले वर्षभरि पढाइमा ध्यान दिँदैनन्। होम सेन्टर भनेर परीक्षाको बेला विद्यार्थीलाई कपी, किताब, लत्ताकपडा र खाद्यान्न बोकेर अन्य ठाउँमा पठाउन हामीलाई असहज भएको छ,’ उनले भने, ‘आफू बसेको ठाउँ र पढेको विद्यालयभन्दा टाढा जाँदा बालिकामाथि दुव्र्यवहारको जोखिम हुन सक्ने चिन्ता पनि उत्तिकै छ।’ त्यसैले परीक्षाका बेला विद्यार्थीलाई टाढा पु¥याएर तनाव दिने काम बन्द गरिनुपर्ने उनले बताए।
होम सेन्टर परिवर्तन भएकाले १२ कक्षासम्म पठनपाठन हुने जाजरकोटका ३७ वटा माविका विद्यार्थीले जिल्लाभरका १८ वटा परीक्षा केन्द्रबाट ६ हजार ८ सय परीक्षार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटले जनाएको छ। पढेको विद्यालयमै परीक्षा केन्द्र हुँदा पनि सम्बन्धित विद्यालयको अन्यत्र केन्द्र तोकिनु बालबालिकालाई जोखिम र झन्झटमा पार्ने काम भएको अधिकारकर्मी खम्बजंग शाहले बताए।
‘परीक्षाको बेला छात्रभन्दा छात्रालाई संरक्षणको जोखिम हुन्छ,’ उनले भने, ‘बस्नेखाने असुविधा त छँदै छ, हिंसा र दुव्र्यवहारको जोखिम पनि त्यत्तिकै हुन्छ।’ यो समस्या जाजरकोटको मात्र होइन।
समग्र कर्णाली प्रदेश र दुर्गम जिल्लाहरूको हो। भौगोलिक विकटता, यातायातको असुविधा, खानबस्नको असुविधाका कारण होम सेन्टर परिवर्तन दुर्गमका विद्यार्थीका लागि व्यावहारिक नभएको स्थानीयको भनाइ छ।
सबै विद्यालयमा परीक्षा केन्द्र राख्न नसकिने भएकाले अर्को विद्यालयमा गएर परीक्षा दिनै पर्छ। केन्द्र भएका विद्यालयलाई पनि अन्य विद्यालय सरह अर्को विद्यालयमा पठाउन सेन्टर परिवर्तन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख यज्ञश्वर खत्रीले बताए। उनले होम सेन्टर परिवर्तन राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार गरिएको सुनाए। परीक्षामा अमर्यादित गतिविधि रोक्न, विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिको सही मापन गर्न, विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न परीक्षा बोर्डको मापदण्डअनुसार केन्द्र तोकिएको उनले बताए। एसईईमा पनि होम सेन्टर परिवर्तन गरेर नै परीक्षा गराइएको उनले बताए। तर, परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षाको बेला झोलीझिम्टी बोकेर विद्यार्थीलाई डेरा खोज्न पठाउनु व्यावहारिक नभएको अभिभावकको गुनासो छ। विद्यार्थी र अभिभावकले गुनासो सुनाएपछि हालै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले शिक्षामन्त्री सस्मित पोखरेललाई भेटेर जाजरकोटलगायतका दुर्गमका विद्यार्थीको समस्या लिखित रूपमै बुझाउँदै परीक्षा केन्द्रबारे पुनर्विचार गर्न माग गरेकी छन्।
त्यस्तै, सामाजिक सञ्जालमा समेत भिडियो सन्देशमार्फत उनले समस्या समाधानबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटले पनि विद्यार्थीलाई दुःख दिने गरी भइरहेको होम सेन्टर परिवर्तनको निर्णय नै खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।
जाजरकोटबाट निर्वाचित सांसद खड्कबहादुर बुढाले पनि होम सेन्टर परिवर्तनले विद्यार्थीलाई दुःख दिएको भन्दै एसईई र १२ कक्षाको परीक्षा विद्यार्थीले सम्बन्धित विद्यालयबाट भयरहित वातावरणमा दिन पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।