: मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन्।
पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधासहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ। उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।