: गाउँका बालबालिकालाई गाउँकै विद्यालयमा टिकाइराख्न छेकम्पारको बुद्ध आधारभूत विद्यालयलाई चुम गुब्बामा स्थानान्तरण गरिएको छ। चुमनुब्री गाउँपालिका-७ छेकम्पार लारस्थित बुद्ध आधारभूत विद्यालय लामागाउँको चुमगुम्बामा सारिएको हो।
विद्यालयका लागि गुम्बाले निर्माण गरेको कक्षाकोठा भवन, छात्रबास भवन, भान्साघर, शौचालय लगायतका भौतिक संरचना सोमबार गाउँपालिकाका अध्यक्ष निमा लामाले उद्घाटन गरेका थिए।
भौतिक संरचना उद्घाटन गर्दै अध्यक्ष लामाले हिमाली गाउँबस्तीका बालबालिकाको शैक्षिक भविष्य निर्माणमा चुमगुम्बाको योगदानको प्रशंसा गरे। साथै छेकम्पार, चुम्चेत तथा अन्य दुर्गम भेगका बालबालिकाहरूलाई समेत समेटेर पठनपाठन गर्न पाउने वातावरण बनाउन र उनीहरूको शैक्षिक भविष्य निर्माणमा सघाउन अनुरोध गरे।
चुम गुम्बाले केही वर्षदेखि करुणा विद्यालय सञ्चालन गरिरहेको थियो। गैरसरकारी संस्थाको सहयोगमा बुद्ध आधारभूत विद्यालयलाई सोही गुम्बामा संरचना तयार गरी पठनपाठनको वातावरण बनाएको हो।
दुवै विद्यालयका गरी उनी ४२ जना बालबालिका आवासीय सुविधासहित पढ्ने गुम्बाका प्रमुख लामा पासाङफुञ्जो लामाले जानकारी दिए। उनीहरूलाई निःशुल्क खाना, बस्न, शैक्षिक सामग्री, विद्यालय पोशाकलगायत निःशुल्क सेवा सुविधासहित पठनपाठनको व्यवस्था गरिएको प्रमुख लामाले जानकारी दिए।
आवासीय सुविधा र शैक्षिक सामग्रीहरू निःशुल्क रूपमा पाएपछि अभिभावकहरूले आफ्ना छोराछोरी गाउँकै विद्यालयमा पढाउने बुद्ध माविका प्रधानाध्यापक छिरिङफुञ्जो लामाले लामाले विश्वास व्यक्त गरे। यहाँ करुणा विद्यालयमा ४ र बुद्ध माविमा चार शिक्षक कार्यरत छन्।