मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार पार्न दुई दलले बुझाए सुझाव
संविधान संशोधन बहसपत्र तयार पार्न दुई दलले बुझाए सुझाव

— सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ लाई निर्धारित समयावधिभित्र दुई राजनीतिक दलले मात्र लिखित सुझाव बुझाएका छन् । अन्य राजनीतक दल सुझावका लागि छलफलमै छन् ।

कार्यदलले संविधान संशोधनमा समावेश गर्नुपर्ने विषय एक साताभित्र उपलब्ध गराइदिन भन्दै गत ३० चैतमा ९ दललाई पत्र पठाएको थियो । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार हालसम्म राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्र सुझाव बुझाएका छन् ।

‘संघीय संसद्मा रहेका ९ दलहरूसँग संविधान संशोधनका विषयमा सुझाव मागेका थियौं,’ सवेदीले भने, ‘प्रमुख राजनीतिक दलहरूले नै बुझाउनुभएको छैन । हामीले सम्पर्क गर्दा यसको तयारीमै रहेको जानकारी दिनुभएको छ ।’ उनका अनुसार कांग्रेसले संविधान संशोधनका लागि आफैंले विज्ञ समिति बनाएको जानकारी गराएको छ । त्यसको प्रतिवेदनपछि सुझाव दिने कांग्रेसको तयारी छ ।

कार्यदलले संविधान संशोधनका विषयमा विज्ञ र अन्य सरोकारवालाको राय पनि समेटेर बहसपत्र तयार योजना बनाएको छ । ‘राजनीतिक दलहरूका तर्फबाट सुझाव आउन केही समय लाग्ने देखियो । हामी अहिले सरोकारवाला निकाय र विज्ञहरूको धारणा समेटेर आधारपत्र तयार गरिरहेका छौं,’ कार्यदलका सदस्य सचिव सुवेदीले भने ।
कार्यदलमा रास्वपाका तर्फबाट मोहनलाल आचार्य, एमालेका भीष्मनाथ अधिकारी, नेकपाका देवप्रसाद गुरुङ, राप्रपाका ज्ञानबहादुर शाही र जनमोर्चाका मनोज भट्ट प्रतिनिधि छन् । यस्तै, श्रम संस्कृति पार्टीका तर्फबाट ध्रुवराज राई, जनता समाजवादी पार्टी नेपालबाट सुरेन्द्रकुमार झा, लोसपाबाट आभाष लाभ सदस्य छन् ।

कार्यदलमा रहेका एमाले नेता अधिकारीले आफूहरू दलभित्र छलफलमै रहेको बताए । संविधान संशोधनको एजेन्डा एमालेले पहिले नै उठाएकाले यसमा छलफल गरेर विषयहरू उपलब्ध गराउने तयारी रहेको उनले बताए । नेकपाका गुरुङले भने कार्यदलको सचिवालयले पठाएको पत्र आफ्नो पार्टीले नपाएको बताए । ‘कार्यदलको पहिलो बैठकमा पत्र आउँछ, लिखित सुझाव दिनुहोला भनिएको थियो,’ उनले भने, ‘तर अहिलेसम्म पार्टीलाई पत्र आएको छैन ।’ पत्र पाएपछि पार्टीभित्र छलफल गर्ने र घोषणापत्रमा गरिएका प्रतिबद्धतासमेत समेटेर लिखित रूपमा बुझाइने उनले बताए ।

राप्रपाका तर्फबाट कार्यदल सदस्य रहेका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले यस विषयमा पार्टीभित्र छलफल भइसकेको र एक/दुई दिनभित्र बुझाइने बताए । ‘हाम्रा एजेन्डा स्पष्ट छन्– प्रदेश संरचना खारेज गर्ने, हिन्दु राष्ट्र बनाउने र राजा ल्याउने । संवैधानिक परिषद्, न्याय परिषद् जस्ता राजनीतिक कार्यकर्ता भर्ती गर्ने निकाय खारेज गर्ने एजेन्डा पनि छ । सुशासनका मुद्दा पनि छन्, ती सबै समेटेर कार्यदललाई बुझाउँछौं ।’

मन्त्रिपरिषद् बैठकले १३ चैतमा स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४ मा संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उल्लेख छ । त्यहीअनुसार कार्यदल गठन गरिएको थियो । रास्वपाले चुनावी वाचापत्रमा सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने भनेको थियो ।

रास्वपाबाट प्रारम्भिक छलफलका लागि पेस हुने विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप हुने भनिएको थियो । निर्वाचनको घोषणापत्रमा कांग्रेस, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले संविधान संशोधनको विषय उल्लेख गरेका थिए ।

कांग्रेसमा १६ सदस्यीय विज्ञ समिति

संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन कांग्रेसले पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय विज्ञ समिति बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत सदस्य छन् । अधिवक्ताहरू रनबहादुर थेबे, शर्मिला श्रेष्ठ, झलमाया विक र राजु कटुवाल पनि सदस्य छन् ।

समितिले संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौती, संघीयता र समावेशिता, जेन–जीको विद्रोह निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने गरी मस्यौदा तयार गर्ने भनिएको छ । समितिले पहिचान र सुशासनका मागबारे पनि अध्ययन गरी संविधानमा गर्नुपर्ने सुधारको खाका पेस गर्नेछ ।

संविधान जारी भएको १० वर्ष पुगेकाले जनभावनाअनुसार यसलाई परिमार्जन गर्न आवश्यक रहेको र गणतन्त्र, संघीयता र नागरिक अधिकार जस्ता आधारभूत विषयमा असर नपर्ने गरी संविधानलाई थप गतिशील बनाउन समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।

के हुन सक्छ साझा विन्दु ?

संविधानका केही प्रावधानमा संशोधन गर्नुपर्ने आवश्यकता विज्ञहरूले पहिलेदेखि नै उठाउँदै आइरहेका छन् । खासगरी शासकीय स्वरूप, समावेशिता, निर्वाचन प्रणालीलगायत विषयमा संशोधन गर्नुपर्ने उनीहरूको भनाइ छ । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने आवाज पनि उठ्दै आएको छ ।

संविधानविद् विपिन अधिकारी सबै दलको साझा मुद्दा तय गरेर संविधान संशोधनमा अघि बढ्नु उपयुक्त हुने बताउँछन् । प्रदेश संरचना परिवर्तन गरी मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने कि नहुने, संवैधानिक इजलासको स्थानमा संवैधानिक अदालत बनाउने कि नबनाउने, प्रदेश र प्रतिनिधिसभामा सांसदको संख्या घटाउने र समावेशीकरण बढाउने, निर्वाचनलाई अझै समानुपातिक बनाउनुपर्ने जस्ता विषयमा दलहरूले धारणा तय गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रपतिको अधिकार र संवैधानिक आयोगका विषयमा पनि दलहरूले साझा मत तयार गर्न सक्ने अधिकारी बताउँछन् । ‘दलहरूका साझा धारणा रहेका विषय यी हुन्, विवादमा रहेका विषय यी हुन् भनेर कार्यदलले छलफल अघि बढाउँदा राम्रो हुन्छ,’ उनी भन्छन् ।

संविधानविद् चन्द्रकान्त ज्ञवाली पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा दलहरूले साझा विन्दु पहिल्याएर अघि बढ्नुपर्ने बताउँछन् । ‘असहमति रहेका बुँदाहरूलाई पनि सार्वजनिक छलफलमा लैजानु राम्रो हुन्छ,’ उनले भने । ज्ञवालीको भनाइमा प्रदेशको संरचना, निर्वाचन प्रणाली, समावेशिता, सांसदहरूको संख्या र राष्ट्रिय सभालगायत विषयमा पहिला दलहरूले साझा धारणा बनाउन उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ । यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ । ...
— प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन । ११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन ...
— बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ ...
— कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ...
— जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको बौधीमाई नगरपालिका–७ बंकुल स्थित मां इँटाभट्टा नजिक चेकजाँचका क्रममा भारतको पूर्वी चम्पारणस्थित मौवाह ग्रामपञ्चायत चनारमण टोलका २० वर्षीय सूर्यकुमार दासलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले बताए । ‘भारतबाट हतियारसहित प्रवेश गरेको सूचना पाएलगत्तै चेकजाँच गर्ने क्रममा दास ...