: मोरङको बेलबारी नगरपालिका–७ डाँगी टोलमा शनिबार राति सवारी दुर्घटना हुँदा सीटी सफारी चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–००२ ह २४८१ नम्बरको सफारी अचानक अनियन्त्रित भई राति करिब ८ः३५ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही स्थानका अन्दाजी ५० वर्षीय जयन्त बस्नेतलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
उनका अनुसार सवारीमा सवार बेलबारी–७ का २० वर्षीय दिनेश भुजेल भने सामान्य घाइते भएका छन् । उनको अवस्था खतरामुत्तर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।