: पूर्वी तराईका मोरङ, झापा र सुनसरी जिल्लामा बढ्दो लागुऔषध कारोबार, दुव्र्यसन र गुण्डागर्दी नियन्त्रण गर्न नेपाल प्रहरीले एकैसाथ सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ ले उल्लेखनीय परिणाम दिएको छ । तीन जिल्लामा एकै समयमा गरिएको विशेष कारबाहीबाट २५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सुरक्षा चुनौतीको रूपमा हेरिएको गतिविधिमाथि प्रहरीले ठोस हिसाबले हस्तक्षेप गर्न थालेको हो । वैशाख ९ गते बेलुका ६ बजेदेखि वैशाख ११ गते बिहानसम्म निरन्तर सञ्चालन गरिएको अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका इकाइहरूले ७२ जनालाई नियन्त्रणमा लिएका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध बिक्री वितरण तथा सञ्चयमा संलग्न व्यक्तिदेखि लिएर गुण्डागर्दीमार्फत समुदायमा आतंक सिर्जना गर्ने, धम्की दिने, राति शंकास्पद रूपमा हिँडडुल गर्ने र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने समूहसम्म रहेका छन् । मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने गतिविधि नियन्त्रण गर्नु अभियानको मुख्य लक्ष्य हो ।
पक्राउ परेकामाथि कसुरअनुसार कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको उनले बताए । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले पछिल्लो समय विशेष गरी सहरी क्षेत्रमा लागुऔषध प्रयोग र साना आपराधिक समूह सक्रिय बन्दै गएको सूचनाका आधारमा आक्रामक अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार आगामी दिनमा पनि यस्ता कारबाहीलाई थप तीव्रता दिइनेछ ।
उता जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको अभियानअन्तर्गत एकै दिन ६२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामध्ये केहीको साथबाट २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ९ हजार रुपैयाँ नगद बरामद भएको झापा प्रहरीका सूचना अधिकारी, डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिल्लामा लागुऔषध प्रयोग र ओसारपसार उल्लेखनीय रूपमा बढेपछि विशेष अभियान आवश्यक ठानिएको थियो ।
दमक नगरपालिका–४ ताराबारी क्षेत्रमा सडक सुरक्षालाई लक्षित गर्दै विशेष ट्राफिक जाँच कार्यक्रम समेत सञ्चालन गरिएको थियो । दमक नगरपालिका, दमक अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा भएको उक्त कार्यक्रममा ५४ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ३ जना चालक र २ जना सहचालकले लागुऔषध सेवन गरेको पुष्टि भएको खड्काले बताए । २ जना चालकले मदिरा सेवन गरी सवारी चलाएको भेटिएको उनको भनाइ छ ।
यसै क्रममा सार्वजनिक सुरक्षामा असर पुर्याउने गतिविधिमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ । प्रहरीमाथि गालीगलौज तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकामध्ये मेचीनगरका सन्तोष सिवाकोटी, बिर्तामोडका सुरज चौधरी, शिवसताक्षीका निर्मल सिटौला, उर्लाबारीका दिवश लिम्बू, हेटौंडाका रवीन्द्र अर्याल र मेचीनगरकै सुमन न्यौपाने रहेका छन् । उनीहरूमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए ।
यता, जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अझ व्यापक देखिएको छ । अभियानका क्रममा १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ११५ पुरुष र ५ महिला रहेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार अनुसार पक्राउ परेकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई पुनस्र्थापना केन्द्र पठाइएको छ भने सामान्य प्रकृतिका कसुरमा संलग्न ७६ जनालाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको छ ।
सुनसरी प्रहरीले लागुऔषध कारोबारमा संलग्न २ जनाविरुद्ध मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि फरार रहेका प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । २६ जनामाथि थप अनुसन्धान जारी रहेको डीएसपी खड्काले बताए । अभियानका क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस विभिन्न प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको जानकारी उनले दिए ।
कोशी प्रदेशको तराईका तीन जिल्लामा एकै साथ सञ्चालन गरिएको विशेष अभियानले प्रहरीको सक्रियता एवं कानुन कार्यान्वयनलाई प्रभावकारी सुरक्षा विज्ञहरु बताउँछन् । पछिल्लो समय युवा वर्गमा बढ्दो लागुऔषध दुर्व्यसन, साना समूहगत अपराध र सार्वजनिक असुरक्षाका घटनाले चुनौती थप्दै गएको अवस्थामा यस्तो कारबाही आवश्यक भएको उनीहरुको भनाइ छ ।
तर, यस्ता अप्रेसनले दीर्घकालीन समाधान दिन्छ वा अस्थायी नियन्त्रणमै सीमित रहन्छ भन्ने बहस पनि सँगसँगै उठेको छ । नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटवालका अनुसार पक्राउ र कारबाही मात्रले लागुऔषध समस्या समाधान हुँदैन । उनले पुनर्स्थापना, जनचेतना, रोजगारी सिर्जना र सामाजिक पुनः स्थापनाका कार्यक्रम सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए ।
पूर्व डीएसपी कटवालका अनुसार प्रहरीले देखाएको समन्वित सक्रियताले तत्कालका लागि सार्वजनिक सुरक्षा सुधार्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस्ता अभियानलाई निरन्तरता र प्रभावकारिता दिइएमा पूर्वी तराईमा आपराधिक गतिविधि नियन्त्रणतर्फ सकारात्मक परिणाम देखिने अपेक्षा गरिएको उनको भनाइ छ ।