: परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितमा संवेदनशील रहेको जनाएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको र सो क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षामा संवेदनशील रहेको बताएका छन् । पश्चिमी एसिया क्षेत्रमा ठूलो संख्यामा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि नेपाल सरकारको पहल जारी रहेको उनको भनाइ छ ।
उनले तेहरानमा रहेका १० जना नेपाली नागरिकमध्ये २ जना नेपाल फर्कने तयारीमा रहेको र बाँकी ८ जनाले तुरुन्त फर्कन नचाहेको जानकारी दिए । द्वन्द्व सुरु हुनुपूर्व नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा संलग्न रहेको पानीजहाजको मुद्दाकाबारेमा स्थानीय अदालतबाट एक चरणको फैसला भई चार जना रिहा भइसकेको र झासहित बाँकीको रिहाइको प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ ।
यद्यपि इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणाली अन्तर्गत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकाले यो विषय टुङ्गिन केही दिन लाग्न सक्ने देखिएको प्रवक्ता क्षेत्रीले बताए । त्यस्तै उनले कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको जानकारी दिए । थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासको पहलमा हालसम्म दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६१२ नेपालीको उद्दार गरिएको समेत मन्त्रालयले जनाएको छ ।