: स्थानीय परिकार पहिचान र प्रवर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ।
यस महोत्सवले नेपालगन्ज तथा बाँके जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय परिकारको पहिचान स्थापित गर्ने र होटल व्यवसायलाई सुदृढ बनाउनु रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए। कार्यक्रममा स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतबाट गरी ५ हजार जनाको सहभागिता रहेको छ।
महोत्सवमा स्ट्रिट फुडदेखि पाँचतारे होटलस्तरीय विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइएको छ। साथै, स्थानीय स्वादिष्ट खाना, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ, कला–संस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेका छन्। महोत्सवमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले करिब ४० वटा स्टल राखेका छन्।