: नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयन प्रक्रियामा अस्वाभाविक ढिलाइ र अन्योल देखिनु दलको सार्वभौम अधिकारमाथि ठाडो हस्तक्षेपको परिणाम भएको बताएका छन्।
खड्काले उक्त हस्तक्षेप तत्काल अन्त्य गर्नुपर्ने माग गर्दै संसदीय दलका सांसदहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनका अनुसार संसदीय दलको नेता चयन प्रक्रिया पार्टीको विधानअनुसार स्वायत्त ढंगले सम्पन्न हुनुपर्ने विषय हो।
उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले संसदीय दलको विधान अनुमोदन गरेपछि सोही व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरूले सर्वसम्मत वा प्रतिस्पर्धात्मक विधिबाट नेता चयन गर्नुपर्ने स्पष्ट पारे।
खड्काले वर्तमान अवस्थालाई ‘अनावश्यक हस्तक्षेप र हतारोपूर्ण गतिविधि’को संज्ञा दिँदै यसले कसैको हित नगर्ने चेतावनी दिएका छन्। उनले दलले अविलम्ब संसदीय दलको नेता चयन प्रक्रिया सम्पन्न गरी पार्टीको छविमा थप क्षति हुन नदिन आग्रह गरे। उनले यस विषयमा पार्टी केन्द्रीय नेतृत्वले गम्भीर रूपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।