: नेपाल प्रहरीले सञ्चालन गरेको स्वीप अप्रेसनअन्तर्गत ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्ति पक्राउ परेका छन्।
जसमध्ये उपत्यकाबाट ४१ जना, कोशी प्रदेशबाट ५ सय ९३ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १ सय ४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका हुन्।
गत वैशाख ९ गतेदेखि १६ गतेसम्म अवैध लागूऔषध गाँजा १ सय ७६ किलो ५१ ग्राम १ सय ८० मिलिग्राम, चरेस १६ किलो ८ सय ९ ग्राम ४ सय मिलिग्राम, हेरोइन १ किलो ३ सय ७२ ग्राम ८ सय ६६ मिलिग्राम, पोलेन १ किलो १ सय ४२ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय २४ एम्पुल, फेनारगन १ हजार ४ सय १७ एम्पुल, बुप्रेनोर्फिन १ हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट २ सय ४२ ट्याब्लेट, स्पास्मो १ सय ३ ट्याब्लेट प्रहरीले बरामद गरेको छ।
लागूऔषध कारोबार लगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ। सबै प्रहरी कार्यालयहरूले विशेष स्वीप अप्रेसन सञ्चालन गरी त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ।
साथै प्रहरीले लागूऔषध दुर्व्यसनीले समाज एवं व्यक्तिगत जीवनमा पार्ने नकारात्मक असर सम्बन्धी समुदाय-प्रहरी साझेदारीअन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवं सबै जिल्ला प्रहरी कार्यालयहरूले स्वीप अप्रेशन सञ्चालन गरी लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइरहेको छ।