: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वर्तमान सरकारले मजदुर श्रमिकको अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसीले मजदुर श्रमिकको अधिकार खोसिए कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक क्षेत्रमा ट्रेड युनियन खारेजीको निर्णय फिर्ता नलिए संघर्षमा उत्रने चेतावनी दिए ।
वर्तमान सरकार सुकुम्बासी, मजदुर तथा उत्पीडित वर्गमाथि खनिन थालेको भन्दै उनले श्रमजीवि तथा गरिखाने जनताको हक–अधिकारलाई कुण्ठित पार्ने काम भए सह्य नहुने स्पष्ट पारे । नेपालको संविधान र आइएलओ अभिसन्धीहरुसँग बाझिएका श्रम कानुनहरुको संशोधन गराएर अधिकार प्राप्तिको लडाई लड्नु पर्ने उनको भनाइ छ ।
श्रेष्ठले मजदुरहरुको न्युनतम परिश्रमिकमा वृद्धि र पूर्ण कार्यान्वयन गरिनुपर्ने, सबै काम र सबै क्षेत्रमा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अबद्ध गराउनु पर्ने, १० प्रतिशत सेवा शुल्क पुनः लागु गर्नुपर्ने लगायत आफूहरुको माग रहेको उल्लेख गरे । श्रेष्ठले अधिकार कटौती गर्नेतिर भन्दा युवा पलायनलाई रोक्न देशमै व्यापक रोजगारीको सिर्जना गर्नेतिर लाग्न सुझाव समेत दिए । त्यस्तै जेटियुसिसीका महासचिव नवराज दाहालले देशमा मजदुर तथा युवाको लागि प्रशस्त रोजगारीको वातावरण बनाउन छाडेर अधिकार हनन्तिर लाग्नु दर्भाग्य भएको बताए।