: सर्लाहीको लालबन्दी नगरपालिका–४ हरिवनस्थित हरिपुर–लालबन्दी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ भने बुबा घाइते भएका छन् ।
हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा साइकल चालक लालबन्दी–९ बस्ने करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन् भने साइकलको पछाडि सवार उनकी करिब ६ वर्षीया छोरी अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले जानकारी दिए । ट्याक्टर र चालक लालबन्दी–१७ बस्ने करिब ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिएर घटनास्थलको मुचुल्का सम्पन्न गरी मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।