: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए।
अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। २०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा भइरहेका छन्।
वैशाख महिनामात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। स्नातक तहतर्फ बिएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ।
अहिले सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्।