: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। पार्टी कार्यालयमा आइतबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशतको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।
मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यससम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको र विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गरिएको रास्वपाले जनाएको छ। पार्टीले असुरक्षित रूपमा बस्न बाध्य नागरिकहरूलाई सुरक्षित बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गर्दै वाचापत्रको बुँदा नं. ८२ मै यसलाई व्यवस्थित गर्ने प्रतिबद्धता रहेको पनि स्मरण गराएको छ।
रास्वपाले असुरक्षित रूपमा बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यमा भने प्राधिकरणको प्रतिवेदन नआउँदासम्म कुनै पनि कारबाही अगाडि नबढाउन सरकारलाई सुझाव दिएको छ।
साथै, स्थानीय तहहरूले आफ्नो क्षेत्राधिकार प्रयोग गर्दै विभिन्न स्थानमा संरचना भत्काइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै रास्वपाले स्थानीय सरकारलाई पनि यही मर्मअनुसार व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।