मुख्य समाचार
निजी क्षेत्रलाई दबाब समूहबाट विकास साझेदारमा रूपान्तरण गर्ने आधार बनाएको छु
निजी क्षेत्रलाई दबाब समूहबाट विकास साझेदारमा रूपान्तरण गर्ने आधार बनाएको छु

— नेपाल उद्योग वाणिज्य महासंघको तीनवर्षे कार्यकाल पूरा गर्दै अध्यक्षबाट बाहिरिन लागेका चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको नेतृत्व सम्हालेको अवधिमा अनेक चुनौती र अवसरसाग साक्षात्कार गरे । कोभिडपछिको आर्थिक सुस्तता, घट्दो लगानी, उच्च ब्याजदर र नीतिगत अनिश्चितताबीच उनले निजी क्षेत्रको आवाजलाई संगठित गर्ने र सरकारसाग संवाद बढाउने प्रयास गरे ।

पूर्वाधार, ऊर्जा, पर्यटन र वित्तीय क्षेत्रसाग जोडिएका नीतिगत बहसहरूमा महासंघको सक्रियता देखिएको उनको दाबी छ । यद्यपि निजी क्षेत्रको मनोबल बढ्न र अर्थतन्त्र अझै चलायमान बन्न सकेको छैन । महासंघको अध्यक्षबाट बाहिरिादै गर्दा कार्यकालको समीक्षा, अर्थतन्त्रको अवस्था, लगानीमैत्री वातावरण, निजी क्षेत्रको भूमिकालगायत विषयमा उनीसँग कान्तिपुरका यज्ञ बञ्जाडे र विमल खतिवडाले गरेको कुराकानी :

नयाँ सरकार गठनपछि कतिपय उद्योगी व्यवसायीमाथि अनुसन्धान भइरहेको छ । तपाईंहरू यसलाई ‘धरपकड’ भन्नुहुन्छ । सरकारी पक्षबाट हेर्दा समस्या भएकाले केही उद्यमी व्यवसायीउपर वास्तविक अनुसन्धान भएको हो । सरकारले समग्र निजी क्षेत्रलाई दुःख दिने, तर्साउने उद्देश्य होइन भनिरहेको छ । यही पृष्ठभूमिमा तपाईंहरूले रास्वपाका सभापति रवि लामिछानेसँग निजी क्षेत्रका तीन वटै छाता संस्थाहरूले बृहत् छलफल गरिसक्नुभएको छ । खास यो छलफलको आवश्यकता किन परेको हो ? छलफलमा के भयो ?

Reachable logo
ads/1440x233-galaxy-s26-sky-blue-kvekantipur-2342026030756.jpg
रास्वपाका सभापति रवि लामिछानेसँग निजी क्षेत्रप्रतिको धारणा, पछिल्ला घटनाक्रमलगायत विषयमा छलफल भएको हो । विगतमा पनि हरेक आन्दोलनपछि जहिल्यै निजी क्षेत्र निसाना बन्ने गरेको छ । यो प्रवृत्ति गत २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनमा पनि दोहोरियो । जसमा निजी क्षेत्रले पनि धेरै क्षति बेहोर्नुपर्‍यो । तर निजी क्षेत्र राज्यको विरोधी नभई योगदानकर्ता हो । लगानी, उत्पादन, राजस्व, पूर्वाधार निर्माण, रोजगारी सिर्जनालगायतमा निजी क्षेत्रको ठूलो योगदान छ । निजी क्षेत्र आर्थिक विकासको संवाहक हो । तर राज्य र आम सर्वसाधारणका तर्फबाट निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक छ, त्यसलाई बदल्नुपर्छ भनेर महासंघले भन्दै आएको छ ।

नेपालमा कुल लगानीमध्ये ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८५ प्रतिशत योगदान निजी क्षेत्रको छ । यति हुँदा पनि किन निजी क्षेत्रलाई निसाना बनाइन्छ भन्ने विषयमा म महासंघ अध्यक्षमा आएदेखि नै पैरवी गर्ने, प्रतिकूल र अप्ठ्यारा कानुन संशोधन गर्न सुझाव दिनेलगायत काम गर्‍यौं । आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय आयोग गठन गर्न सुझाउने काम पनि महासंघले गरेको छ ।

निजी क्षेत्रले जहिले पनि राजनीतिक स्थायित्व, स्थिर सरकार र नीतिगत स्थायित्व चाहन्छ । धेरै वर्षदेखि त्यो हुन सकिरहेको थिएन । २१ फागुनको निर्वाचनपछि दुईतिहाइ निकटको बहुमतसहित रास्वपाको सरकार बनेको छ । यो सरकार आउनुअघि नै महासंघले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोसन प्लान स्ट्राटेजी’ (पीएसपीपी) को ड्राफ्ट बनाएर सरकारका विभिन्न निकायहरूमा दिएको थियो । यो सरकारको पहिले मन्त्रिपरिषद्ले पारित गरेको सयबुँदे कार्यसूचीमा उक्त विषय पनि समेटिएको छ । यो सकारात्मक हो ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
यसैबीच पछिल्ला दिनमा अनुसन्धानका लागि भन्दै निजी उद्योगी व्यवसायी समातिएका छन् । यी कारणले निजी क्षेत्रको आत्मविश्वास घटेको, फेरि पनि निसानामा परेको हो कि भन्ने त्रास उत्पन्न भएको थियो । यी सन्दर्भमा रास्वपाका सभापति रवि लामिछानेलाई निजी क्षेत्रप्रति आफ्नो धारणा स्पष्ट गरिदिनुस् भनेर आग्रह गरेका थियौं । सोहीअनुसार छलफल भएको थियो । छलफलमा र महासंघसँगै, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका पदाधिकारी, सदस्यहरूबीच आइतबार छलफल भएको हो ।

छलफलमा सभापति लामिछानेले निजी क्षेत्रप्रति आफ्नो धारणा पुनः स्पष्ट पार्नुभएको छ । निजी क्षेत्रलाई हतोत्साही बनाउने सरकारको उद्देश्य नभई प्रोत्साहन गर्ने, सहजीकरण गर्ने रहेको सभापति लामिछानेले प्रस्ट्याउनुभएको छ । उद्योगी व्यवसायीका प्रश्नको स्पष्ट जवाफ सभापति लामिछानेले दिनुभएको छ । सरकार निजी क्षेत्रको विपक्षमा हो कि भन्नेबारे कत्ति पनि शंका नगर्न र पूर्ण आत्मविश्वाससाथ उद्यम व्यवसाय गर्न सभापतिले आग्रह गर्नुभयो ।

नयाँ सरकार बनेपछिको तपाईंहरूसँगको पहिलो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीलाई थुन्ने होइन, पहिले सुन्ने हो, गल्ती गरेकै भए आर्थिक जरिवाना लगाउने हो भन्नुभएको थियो । तर सरकारकै अर्का मन्त्रीले उद्योगी व्यवसायीलाई निजी क्षेत्रकै भाषामा भन्दा 'धरपकड’ का लागि निर्देशन दिएको देखिन्थ्यो । यसलाई निजी क्षेत्रले कसरी लिएको छ ?

ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
यसरी यो वा त्यो उद्योगी व्यवसायीलाई किन समातियो भनेर व्यक्तिगत रूपमा कुरा भएन । समग्रतामा कुरा भयो । मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको र सोही क्रममा केही नियामक निकायको सुझाव/सिफारिसअनुसार उद्योगी व्यवसायीलाई नियन्त्रणमा लिइएको भए पनि यसबाट समग्र निजी क्षेत्र हतोत्साही हुने अवस्था नरहेको उहाँले प्रस्ट पार्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने क्रममा केही व्यक्तिविशेषलाई असर परे पनि त्यसलाई समग्रतामा जोडेर नहेर्न सभापतिले भन्नुभएको छ ।

सरकारको कुनै निकायले निश्चित विषयमा उद्योगी व्यवसायीबारे अनुसन्धान सुरु गर्दाबित्तिकै निजी क्षेत्रमाथि धरपकड भयो, आत्मविश्वास गुम्यो भन्दै आवाज उठाउनुहुन्छ, उद्योगी व्यवसायीमाथि अनुसन्धानै गर्न नपाइने हो ?

महासंघले जहिल्यै पनि निष्ठासहितको उद्योग व्यवसायलाई नै प्रोत्साहन गर्दै आएको छ । गल्ती गर्नेलाई अनुसन्धानै नगर भनेर महासंघले भनेको छैन । हामीले अनुसन्धानको प्रक्रिया सहज बनाऊ, एउटा उद्यमीलाई नियन्त्रणमा लिँदा उसका सबै उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित हुन्छन् । त्यो हुन नदिन अनुसन्धानमा दोषी देखिएपछि मात्र कारबाही गर्नु भनेका हौं । सम्भव हुन्छ भने नियन्त्रण र जेल हाल्नुको साटो आर्थिक जरिवाना गर भनेका मात्र हौं ।

ads/ad-banner-1440x233px-1042026075344.png
कोभिड–१९ संक्रमणका कारण अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला तपाईंले महासंघको नेतृत्व गर्नुभएको थियो । कार्यकालको बीचमा पनि उतारचढाव आए । अब अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्दै हुनुहुन्छ । तपाईंको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

म महासंघको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्र शिथिलप्रायः थियो । विश्वभर फैलिएको कोभिड–१९ महामारीको असर हाम्रो अर्थतन्त्रमा पनि देखिन सुरु भएको थियो । रुस–युक्रेन द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव र लगानी निराशाले मुलुकको अर्थतन्त्र ग्रस्त थियो । बारम्बार हुने सरकार परिवर्तनले नीतिगत अन्योल थपिएको थियो । यस्तो अस्थिर अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउनु र आर्थिक गतिविधि चलायमान बनाउने वातावरण तयार गर्नुपर्ने प्रारम्भिक परीक्षा थियो ।

यस सन्दर्भमा मैले लगानीमैत्री वातावरण निर्माण, नीतिगत अवरोध हटाउने पहल र राज्य–निजी क्षेत्र सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढें । महासंघका पहलहरू घोषणामा सीमित नभई संस्थागत संवाद र समन्वयमार्फत व्यवहारमा उतार्ने प्रयासमा लागिरहें । महासंघले परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै प्रभाव पार्ने प्रयास गर्‍यो । बागलुङको ढोरपाटनमा सम्पन्न महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले मुलुकका तत्कालीन समस्याहरूको समाधानका लागि बृहत् राष्ट्रिय आर्थिक बहस आयोजना गर्ने निर्णय गर्‍यो । यसले सरकार, राजनीतिक दल, नियामक र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्यायो । परिणामस्वरूप सरकारले महासंघको प्रस्तावअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्‍यो । आयोगमा महासंघका अध्यक्षका रूपमा म आफैं सदस्य भएर काम गरें । यसले लगानीको वातावरण बनाउन ३० भन्दा बढी कानुन सुधारका लागि सिफारिस गरेको छ । यसले दीर्घकालदेखि थाती रहेका कानुनी जटिलता र प्रक्रियागत अवरोधलाई सुधारको औपचारिक एजेन्डामा ल्याएको छ । यसले लगानी वातावरण सुधारका लागि आधार तयार गरेको छ ।

ads/ekantipur-6800x1100px-0442026081853.jpg
मेरो कार्यकालमा लामो समयदेखि निजी क्षेत्र र सरकारबीच रहेको सम्बन्धलाई पुनः परिभाषित गर्ने काम भएको छ । मैले सरकार–निजी क्षेत्र सम्बन्धलाई टकराव तथा एक पक्ष माग राख्ने र अर्को पक्ष त्यसलाई सम्बोधन गर्ने अवस्थाबाट सहकार्यतर्फ मोड्ने प्रयास गरें । जुन मेरो कार्यकालको प्रमुख र महत्त्वपूर्ण उपलब्धि मानिन्छ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउन सक्नुलाई पनि मैले ठूलो उपलब्धि मानेको छु ।

I have laid the foundation for transforming the private sector from a pressure group into a development partner: Chandra Prasad Dhakal
तस्बिर : अंगद ढकाल/कान्तिपुर

यसका लागि सरकारका विभिन्न निकाय जस्तै– प्रधानमन्त्री, मन्त्रीहरू, मुख्यसचिव, सचिवलगायत अधिकारी, संवैधानिक निकाय र संसद्लाई आफ्नो तर्कले विश्वस्त पारी निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउने प्रावधानलाई परिमार्जन गर्न सफल भयौं । धेरै नियमनकारी निकाय हुँदा लगानी र आर्थिक वृद्धि प्रभावित हुन सक्ने थियो । हामीले यसको विरोध मात्र गरेनौं, सबैलाई सहमतिमा ल्याई तत्कालका लागि यो प्रावधान स्थगित गर्न सफल भयौं, जसले लगानी वातावरण जोगाउन मद्दत गर्‍यो । नेपालमा केही हुँदैन र नेपालको आन्तरिक पुँजीबाट केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्य बढ्दै गएको अवस्था थियो । यो भाष्य चिर्न र मुलुकभित्र र बाहिर छरिएर रहेको सानो–सानो पुँजी संकलन गरी १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना भएको छ । यो कम्पनीमार्फत आन्तरिक पुँजी परिचालनमार्फत ठूला पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअपमा लगानी गर्ने नयाँ मोडेल प्रस्ताव गरिएको छ । विभिन्न देशमा लगानी फोरम र द्विपक्षीय सम्मेलनमार्फत विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई पनि मैले उपलिब्ध ठानेको छु ।

ads/6800x1100px-1532026090118.jpg
मेरो कार्यकालमा महासंघको विधान संशोधन अर्को महत्त्वपूर्ण उपलब्धि हो । लामो समयदेखि विवाद र बहसको विषय बन्ने गरेको महासंघको विधान सर्वसम्मत रूपमै संशोधन गर्न सफल भयौं । विगतमा कसैलाई पदमा ल्याउन वा रोक्न विधान संशोधन हुने गर्थ्यो । यस पटक त्यस्तो रहेन । विधान संशोधनमार्फत वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष चयन गर्ने प्रणाली लागू गरियो । यसले नेतृत्व चयन प्रक्रियालाई थप प्रतिस्पर्धी, उत्तरदायी र समयसापेक्ष बनाएको छ । यो परिवर्तनले महासंघभित्र शक्ति सन्तुलनको नयाँ संरचना निर्माण गरेको छ । यसरी तत्कालीन प्रतिनिधिमार्फत प्रतिस्पर्धात्मक विधिबाट आउने भएकाले नयाँ विधानले अध्यक्षलाई सदस्यहरूप्रति थप उत्तरदायी, जिम्मेवार र परिणाममुखी बनाउनेछ । समग्रमा, मेरो कार्यकालमा निजी क्षेत्रलाई ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ मा रूपान्तरण गर्ने आधार तयार भएको छ । मेरो कार्यकालमा अघि सारेका सहकार्य, नीतिगत सुधार र संस्थागत रूपान्तरणका प्रयासहरूलाई निरन्तरता दिन सके मात्र पनि नेपालको आर्थिक विकास र लगानी वातावरणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने स्पष्ट देखिन्छ ।

तीन वर्षको कार्यकालमा चाहेका मध्ये के–के काम गर्न सकिएन जस्तो लागेको छ ?

ads/gd-15320260905101-2232026054713.jpg
ads/400-width-x-300-height-pixel-2732026085915.png
महासंघको नेतृत्व सम्हाल्न मैले पाँच विषय प्राथमिकतामा राखेको थिएँ । पहिलो, तत्कालीन आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो, लगानीको वातावरण बनाउने, तेस्रो, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र पाँचौं व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने । यी सबै काम निकै सफलतापूर्वक सम्पन्न भएका छन् ।

म नेतृत्वमा आउँदा कोभिड–१९ को संक्रमण त थियो नै । वित्तीय प्रणालीमा तरलता अभाव थियो, उच्च ब्याजदर थियो । राजनीतिक अस्थिरता थियो । अहिले त्यो अवस्था छैन । ब्याजदर निकै तल झरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता छ । स्थिर सरकार आएको छ । धेरै नीति, कानुन संशोधन भए, केही कानुन परिमार्जनका क्रममा छन् । विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति र चालु खाता बचतमा छन् । यी सूचकका आधारमा पनि अहिले अर्थतन्त्रको अवस्था निकै सहज छ ।

लगानी वातावरणमा सुधार भएको छ । उदाहरणका रूपमा आईएमई समूहअन्तर्गतकै लगानी हेर्न सक्नुहुन्छ । यस अवधिमा हामीले करिब २ अर्ब लगानीमा महोत्तरीमा कागज उद्योग स्थापना गरेका छौं । नेपालमै पहिलो पटक निजगढमा सिमेन्ट बोर्ड स्थापना गरेका छौं । यससँगै विभिन्न स्थानमा पर्यटन पूर्वाधार र जलविद्युत् आयोजना निर्माणाधीन छन् । म महासंघको नेतृत्वमा रहेकाले लगानी विस्तारमा कमी आएको छैन । निरन्तर रूपमा काम भइरहेको छ । केही आयोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको छ । मेरो मात्र होइन अरू उद्योगी व्यवसायीले पनि निर्बाध रूपमा लगानी गरिरहेका छन् । उदाहरणका लागि भाटभटेनी सुपरमार्केटको विस्तार र पुनर्निर्माणलाई लिन सकिन्छ । यसरी लगानी गर्नेका लागि यहाँ वातावरणले रोकेको छैन ।

तपाईं प्रधानमन्त्रीलगायत सबै स्थानमा पहुँच पुर्‍याउन सक्ने भएकाले लगानी विस्तार गर्न सजिलो भएको छ । सबै उद्योगी व्यवसायीको यस्तो पहुँच नभएकाले समस्या हुन्छ भन्ने छ नि ?

म महासंघमा अध्यक्ष भएको तीन वर्ष मात्र भएको छ । तर उद्योग व्यवसाय महासंघमा नहुँदा पनि गर्थें, हुँदा पनि गरिरहें । अध्यक्षबाट बाहिरिएपछि पनि उद्यम गरिरहन्छु । यसकारण महासंघमा अध्यक्ष हुँदा र नहुँदा उद्योग व्यवसाय विस्तारमा फरक हुने भन्ने हुँदैन । मेरा धेरै लगानी महासंघमा अध्यक्ष हुनुअघि गरिएको थियो । बैंक ब्याजदर इतिहासकै न्यून बिन्दुमा छ । बैंकहरूमा पैसा थुप्रिएको छ ।

र पनि केही निजी क्षेत्रबाटै लगानीको वातावरण छैन, आत्मविश्वास गुमेको छ भनिँदै आएको छ नि ? लगानीका लागि उपयुक्त समय हो भन्ने आधार के के हुन् ?

होइन, लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय हो । न्यून ब्याजदर, सहज रूपमा लगानीलगायत धेरै नीति अनुकूल छन् । बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४ प्रतिशतभन्दा कम छ । जब कि बैंकहरूले ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न पाउँछन् । नयाँ र बहुमत नजिकको सरकार छ । नीतिगत स्थिरता छ । यी कारणले लगानीका लागि यो उपयुक्त समय हो । यद्यपि कतिपय विषयमा अझै पनि सुधार गर्नुपर्नेछ ।

I have laid the foundation for transforming the private sector from a pressure group into a development partner: Chandra Prasad Dhakal
तस्बिर : अंगद ढकाल/कान्तिपुर

लगानी गर्ने ठाउँ वा क्षेत्रमा सुधार गर्नुपर्ने कुरा के–के हो ?

हाम्रोमा लगानी बोर्ड छ । पहिला जहाँ निजी क्षेत्रका मान्छेलाई राखिन्थ्यो । अहिले त्यहाँ निजी क्षेत्रका मान्छे छैनन् । वास्तविक लगानीकर्ताको पीडा निजी क्षेत्रलाई मात्र थाहा हुन्छ । नत्र भने वास्तविकता एकातिर हुन्छ, नीतिनियम अर्कोतिर हुन्छ । यस्ता विषयमा सुधार गर्नुपर्छ । परिवर्तन गर्ने विषयमा निजी क्षेत्रसँग पनि सल्लाह सुझाव लिनुपर्छ । विभिन्न देशका प्रतिनिधि (लगानीकर्ता) लाई बोलाएर र उनीहरूको राष्ट्रमा गएर महासंघले लगानी समिटसँगै छलफल पनि गरेको थियो ।

मुख्य कुन कुन राष्ट्रमा यस्ता गतिविधि भए ? उनीहरूबाट कस्तो प्रतिक्रिया आयो ?

वैदेशिक लगानी आकर्षित गर्न सरकारलाई निजी क्षेत्रको साथ चाहिन्छ । सरकारले नीतिगत तथा प्रक्रियागत सुधार गरेर लगानीकर्तालाई आकर्षित गर्ने प्रयास गर्छ भने निजी क्षेत्रले व्यावहारिक परामर्श दिन सक्छ । सफलताका केस स्टडी निजी क्षेत्रले नै दिने हो । संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) कम्पनी स्थापना पनि निजी क्षेत्रकै पहलमा हुने हो । यही दर्शनलाई आत्मसात् गर्दै मैले महासंघलाई यसै दिशामा सक्रिय गराउन पहल गरें । महासंघले सम्बन्धित देशका संस्थासँग सहकार्य गर्दै चीन, भारत, यूएई, स्पेन र थाइल्यान्डमा द्विपक्षीय बिजनेस समिट आयोजना गर्‍यो । चीनमा लगातार दुई बिजनेस समिट सफलतापूर्वक सम्पन्न भए— २०२३ सेप्टेम्बर र २०२४ डिसेम्बरमा ।

पहिलो समिटलाई प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल र दोस्रोलाई केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । ती समिटमा हामीले नेपालले व्यावसायिक वातावरण निर्माण र सुधारमा गरेको प्रगतिबारे चिनियाँ लगानीकर्तालाई अवगत गरायौं । नेपालमा व्यवसाय गर्नुका फाइदा तथा अन्य आकर्षणबारे जानकारी गराउँदै लगानी आकर्षित गर्ने प्रयास गर्‍यौं ।

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा आयोजित ती समिटमा नेपाली उत्पादनको चीन निर्यात विस्तार गर्ने तथा चीन हुँदै अन्य मुलुक निर्यात गर्ने सम्भावनाबारे हामीले कुरा उठायौं । चिनियाँ लगानीकर्ता तथा सरकारका प्रतिनिधिले त्यसमा साथ दिने र सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यसबेला नेपालले भरखरै आफ्नो सार्वभौम क्रेडिट रेटिङ सम्पन्न गरेको थियो । दक्षिण एसियामा भारतपछिको राम्रो रेटिङ आएकाले सरकार र निजी क्षेत्र दुवैको मनोबल उच्च बनेको थियो । समिटमा मैले चीन सरकारसमक्ष नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरें । चिनियाँ सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारी र ठूला व्यवसायीले त्यसमा साथ दिने प्रतिबद्धता देखाए । चीनको वाणिज्य मन्त्रालयका भाइस मिनिस्टरले विशेष अतिथिका रूपमा समिटलाई सम्बोधन गरेका थिए । उनले पनि लगानी, पर्यटन र व्यापारमा नेपालाई सहयोग गर्ने बताए । व्यापार व्यवसाय मात्र नभई चीन नेपालीका लागि रोजगारीको राम्रो गन्तव्य र पर्यटकको राम्रो स्रोत बन्न सक्छ । हामीले भने त्यसबाट लाभ लिन सकेका छैनौं । सरकारी र निजी स्तरमा हुने छलफल तथा वार्तामा यस्ता विषय उठ्छन् अनि सेलाइहाल्छन् । अर्थतन्त्र तथा रोजगारीमा विशेष प्रभाव पार्न सक्ने यस्ता विषयलाई प्राथमिकतामा राखी निरन्तर पैरवी गर्ने संस्कृति नहुँदा नेपालले पाउन सक्ने फाइदा मिलेको छैन । करिब १ सय ३० जना चिनियाँ व्यवसायी, चीनमै व्यवसाय गरिरहेका नेपाली र नेपालबाट गएको प्रतिनिधिमण्डलसमेत गरी समिटमा दुई सय जना व्यवसायीले सहभागिता जनाएका थिए । हामीले चिनियाँ र नेपाली भाषामा ‘नेपालमा किन लगानी गर्ने’ भन्ने पुस्तक पनि सार्वजनिक गर्‍यौं । बेइजिङमा यो स्तरको कार्यक्रम आयोजना भएको मलाई सम्झना छैन । त्यसैले नेपाल सरकारले पनि विभिन्न वक्तव्य र प्रतिवेदनमा यसलाई समेटेको छ ।

२०८० जेठमा भारतको नयाँदिल्ली र सोही वर्ष मंसिरमा दुबईमा द्विपक्षीय बिजनेस समिट आयोजना गरियो । नयाँदिल्लीमा भएको समिटमा ६० भन्दा बढी भारतीय कम्पनी तथा प्रतिनिधिको सहभागिता थियो । त्यहाँ बोल्दै मैले भनेको थिएँ— ‘भारतीय लगानीका लागि नेपाल प्रमाणित गन्तव्य हो । यहाँ कुल स्वीकृत प्रत्यक्ष विदेशी लगानीमध्ये भारतीय लगानीको हिस्सा ३० प्रतिशतभन्दा बढी छ । नेपालमा उत्पादन तथा सेवा क्षेत्रमा व्यवसाय गर्दै आएका भारतीय कम्पनीले आफ्नो लगानीमा राम्रो प्रतिफल प्राप्त गर्दै आएका छन् । दुई दशकभन्दा बढीको सुखद अनुभव उनीहरूसँग छ ।’ नेपाल विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, सार्वजनिक–निजी साझेदारी तथा लगानीसम्बन्धी नीति र ऐनहरूलाई थप खुला एवं अनुकूल बनाउँदै विश्वव्यापी तथा क्षेत्रीय एफडीआई आकर्षित गर्न प्रयासरत रहेको पनि नेपाल–इन्डिया बिजनेस समिट, नयाँ दिल्लीमा उपस्थित व्यवसायी तथा लगानीकर्तालाई बताएको थिएँ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । नेपालको ७० प्रतिशत निर्यात व्यापार भारतसँगै हुन्छ । त्यस्तै नेपाल भारतका लागि ११ औं ठूलो निर्यात गन्तव्य हो । नेपालको जलविद्युत्को सम्भावनालाई वास्तविकतामा परिणत गर्न सक्ने हो भने हामीले ऊर्जा निर्यात गरेर व्यापारमा सन्तुलन कायम गर्न सक्छौं । र त्यस्तो व्यापारले दीर्घकालसम्म नेपाललाई लाभ दिनेछ । त्यसका लागि हामीले भारत र अन्य मुलुकबाट लगानी भित्र्याउन जोडबल गर्नुपर्छ । उनीहरूलाई यहाँ रहेको ठूलो व्यावसायिक सम्भावनाबारे जानकारी दिनुपर्छ । अहिले नेपालले भारतीय सीमाबाट नजिक रहेका पहाडी हिल स्टेसन प्रवर्द्धन गर्ने नीति लिएको छ । कुनै पनि भारतीय सीमाबाट करिब दुई घण्टाको यात्रामा ती गन्तव्यमा पुग्न सकिन्छ, जहाँ मध्य गर्मीमा पनि अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम रहने गर्छ । यी हिल स्टेसन हालसम्म पनि पूर्ण रूपमा विकास भइसकेका छैनन् । त्यहाँका पर्यटन पूर्वाधार तथा अन्य क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको मैले भारतीय लगानीकर्तालाई बताएको थिएँ । विश्वकै ठूलो महाकुम्भमध्ये एक मानिने कोपमा त्यसरी लगानी प्रवर्द्धनको कार्यक्रम गर्ने हामी मात्र थियौं, जसले गर्दा नेपालप्रति विश्वकै ध्यान खिचिन पुग्यो । यसरी सरकारले गर्नुपर्ने कामसमेत जिम्मेवारीपूर्वक निर्वाह गर्न महासंघ सफल भएको छ ।

महासंघले क्षेत्रीयस्तरमा आफ्नो प्रतिष्ठालाई कायमै राखेको छ । सन् २०२३ को बिमस्टेक बिजनेस समिटमा हामीले राखेको बिमस्टेक चेम्बर स्थापना गर्ने प्रस्तावलाई २०२४ को समिटले स्वीकार गरेको छ । महासंघको प्रस्तावमा सम्पूर्ण सदस्य राष्ट्र बिमस्टेक चेम्बर अफ कमर्स स्थापना गर्न सहमत हुनु हाम्रा लागि गौरवको विषय हो । यसले महासंघका साथै मुलुककै गरिमा बढाएको छ ।

महासंघको नेतृत्व छाडेपछि लगानी बढाउने, नयाँ–नयाँ क्षेत्रमा जाने तपाईंका के कस्तो योजना छन् ?

भएका र चालु रहेका आफ्ना काम पूरा गर्ने हो । केही आयोजनामा काम भइरहेको छ । जलविद्युत् आयोजना र पर्यटनको क्षेत्रमा काम भइरहेको छ । त्यसैले पहिला थालिएका आयोजनाको काम सम्पन्न गर्ने हो ।

सरकारले अहिले बजेट बनाउँदै छ, यसमा तपाईंहरूले के–के सुझाव दिनुभयो ?

सुझाव नयाँ कार्यसमिति आएर दिन्छ । आउने बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ । निर्माण जारी रहेका पूर्वाधारको काम सक्नुपर्छ । आन्तरिक उत्पादनलाई प्रवर्द्धन गरी आयात प्रतिस्थापन गर्ने खालको बजेट आउनुपर्छ । अब नेपालबाट उत्पादन गरेर निर्यात गर्ने वातावरण बनाउनुपर्छ । अहिले हामी काठ आयात गरिरहेका छौं, यसको निर्यात गर्ने वातावरण बनाउनुपर्छ । गिट्टी–बालुवाका कारण हाम्रा खोलानाला पुरिइसकेका छन् । तर निकाल्न दिइएको छैन । यसमा नियम प्रक्रिया पूरा गरेर बिक्री गर्न सके राज्यलाई आम्दानी हुन्छ । वातावरण नबिगारी यसलाई निकालेर बिक्री वितरण गर्न सकिन्छ । यसका लागि त्यहीअनुसारका कानुन बनाउन जरुरी छ । पश्चिम एसियामा जारी युद्धका कारण अहिले निर्माण सामग्री अभाव भएर निर्माणका काम प्रभावित छन् ।

I have laid the foundation for transforming the private sector from a pressure group into a development partner: Chandra Prasad Dhakal
तस्बिर : अंगद ढकाल/कान्तिपुर

औद्योगिक ग्राम र सेजका विषय पनि छन्, यसमा निजी क्षेत्रकै अवरोधले गर्दा व्यवसायी गएनन् भन्ने छ नि ?

विशेष औद्योगिक क्षेत्र (सेज) प्रयोग गरेबापत लाग्ने कर वर्षौंदेखि घटाउन भनिए पनि घटाइएको थिएन । अहिले आएर बल्ल घटाइएको छ । समयमै यसमा निर्णय नहुँदा राज्यले पाउने राजस्व गुम्यो । गाडी र मोटरसाइकलबाहेक अन्य सामान अनौपचारिक माध्यमबाट भित्रिए । जसले गर्दा राज्यलाई चुनौती पनि भयो । अब धेरै व्यवसायी जान्छन् । सहज भएको छ । भाडा मात्र होइन, अन्य ससाना समस्या पनि छन् । जस्तै, कुनै एक उद्योगलाई पाँच बिघा जग्गा चाहिएको हुन्छ । तर त्यहाँ एक बिघा मात्र उपलब्ध हुन्छ । जसले गर्दा पर्याप्त र चाहिएको जति जग्गा नभएर व्यवसायी जान आनाकानी गर्छन् ।

डेडिकेटेड ट्रंकलाइनको विषय अझै टुंगिइसकेको छैन, यसमा के हुन्छ ?

म नेतृत्वमा हुँदा मेरो कामै कहिले लाइन नकाटिदिनू भन्ने, कहिले काटेको लाइन जोडिदिनू भन्नेमै भयो । कहिले यो समस्यालाई दिगो रूपमा समाधान गर्न आयोग गठन गर्नुपर्‍यो भनेर लागियो । यसमा सफल पनि भइयो ।

उद्योग व्यवसाय गरिरहेका परिवारका दोस्रो पुस्ताले विदेशमा पढे, केही गर्न सकिन्छ कि भनेर नेपाल आए, यहाँको अवस्थाले गर्दा फेरि बाहिर जान थाले भन्ने छ नि ?

मेरा छोराछोरीले नेपालमा काम गर्ने वातावरण भएन भनेर बाहिर जान्छौं भनेका छैनन् । यहीँ व्यवसायमा रमाइरहेका छन् । मैले मेरा छोराछोरीलाई मात्र होइन, सबै युवापुस्तालाई यहीं केही गर्नुपर्छ भन्ने गरेको छु । बाहिर विदेशमा भेट्दा, देख्दा पनि तपाईंहरू नेपाल फर्कनुपर्छ भन्ने गरेको छु । विदेशमा पढेको ज्ञान नेपालमा लागू गर्नुपर्छ भन्ने गरेको छु । नेपालमा धेरै कुरा छन् । हामीले तिनको अध्ययन अनुसन्धान र अन्वेषण गरिसकेका छैनौं । अहिलेको पुस्ता स्मार्ट छ । सूचना प्रविधिमा अभ्यस्त छ । यस क्षेत्रमा सम्भावना पनि धेरै छन् ।

पश्चिम एसिया युद्धले रेमिट्यान्समा कस्तो असर पार्न सक्छ, पारेको छ, छैन ?

पश्चिम एसिया युद्धका कारण मानिस फर्किन सुरु गरिसकेका छैनन् । अहिले यसको आकलन गर्ने बेलै भएको छैन । मानिस फर्किएर आए रोजगारी दिने र रेमिट्यान्स घट्ने कुरा एउटा छ । यो भन्दा पनि इन्धनका कारण पूर्वाधार निर्माणमा ठूलो असर पर्ने देखिन्छ ।

महासंघको निर्वाचनमा तपाईं कुन समूहतिर हुनुहुन्छ नि ?

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा छु । चुनाव नै हुने अवस्था भए मैले मतदान मात्र गर्ने हो । त्यसैले निर्वाचनमै जाँदा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्छ । नयाँ कार्यसमितिले हामीले तीन वर्षमा गरेको काम कार्यान्वयन मात्र गर्न सक्यो भने धेरै सहज हुनेछ ।

निजी क्षेत्रका छाता संगठनलाई एउटै बनाउन मिल्दैन ? यसमा तपाईंको पहलकदमी भएन ?

म महासंघको अध्यक्ष भइसकेपछि होइन, रोजगारदाता परिषद्को उपाध्यक्ष हुँदा चारतिर फर्किएकालाई एक ठाउँमा ल्याएर काम गराएको छु । सबैलाई जोडेर उच्चस्तरीय आयोगमा बसेर काम गर्‍यौं । जहाँ पूर्वअर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा समिति गठन गरिएको थियो । त्यसैले मर्ज गर्नेभन्दा पनि एकचोटि सिटी बजाएपछि सबै जना एक ठाउँमा आउने वातावरण हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल)ले पश्चिम सेती प्रसारणलाइन सार्वजनिक–निजी-साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लगानीको मोडालिट‍ी टुंगो लगाएको छ । अब पश्चिम सेती प्रसारणलाइन निर्माण गर्न निजी क्षेत्रको ४९ प्रतिशत र सरकारी निकायको ५१ प्रतिशत सेयर रहेको स्पेशल पर्पज भेहिकल (एसपीभी) कम्पनी स्थापना हुनेछ । सोही कम्पनीबाट ४ सय किलोभोल्ट (केभी) को ...
— गत बिहीबार रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने जम्मा २० जना मध्ये रुकुम पूर्वमा ६ जनाको आज सामूहिक दाहसंस्कार गरिएको छ । सिस्ने गाउँपालिका–६ की मृतक युवा बुढाथोकीका श्रीमान् दीपक अमेरिकाबाट फर्किएपछि उनीसंगै ६ जनाको आज धाउने बगरस्थित सानीभेरी नदी किनारमा दाहसंस्कार गरिएको हो । दुर्घटनामा परेर युवा र उनका छोरासंगै उनकी सासुआमा ...
— जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी दुवै मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता चन्दन सिंहले जनमत पार्टीले मधेश प्रदेश सरकारमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई गरेको समर्थन फिर्ता लिएको जानकारी दिए । उनले मधेश प्रदेशमा सहभागी जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री ...
— सरकारले निर्माधीन रहेका क्रिकेट पूर्वाधारहरूलाई ठूलो प्राथमिकतामा राख्दै आएको छ । त्यसलाई निरन्तरता दिँदै आउँदो बजेटमा त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुर परेमा यसको दर्शक क्षमता दोब्बर हुन सक्नेछ । सहरी विकास मन्त्रालयले ४० करोड रुपैयाँ छुट्याएपछि गत वर्ष कीर्तिपुर रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट बनाउँदै फ्लडलाइट जडान गरेको थियो । घाँसे मैदानमा १५ ...
— सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले सञ्चालन गर्न लागेको कैलाश मानसरोवर यात्राबारे दुवै देशलाई कूटनीतिक नोट पठाएको बताएका छन्। सोमबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले त्यो नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए। ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो ...