मुख्य समाचार
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन

— प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्ती हटाउन चालिएका कदमहरू नागरिक हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान खोज्नका लागि भएकाे बताएका छन्।

पछिल्लो समय यस विषयमा विभिन्न टिप्पणी र व्याख्या सार्वजनिक भइरहेका बेला उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहले अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूबीच उठिबास हुने त्रास फैलाउने प्रयास भइरहेकोप्रति सरकार गम्भीर रहेको उल्लेख गरेका छन्।

उनले नदीकिनार र सार्वजनिक जग्गामा भएको अतिक्रमण कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। दीर्घकालीन समाधानका लागि कानुनी अवरोध हटाउने क्रममा भूमिसम्बन्धी ऐन, २०२१ का केही दफाहरू अध्यादेशमार्फत खारेज गरिएको पनि उनले उल्लेख गरेका छन्।

वास्तविक भूमिहीन नागरिकहरूको पहिचान गर्न डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा अभिलेख तयार गर्ने काम सुरु भइसकेको शाहकाे भनाइ छ। यसबाट भूमिहीनहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित र पारदर्शी समाधानतर्फ अघि बढिने उनले बताएका छन्।

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उल्लेख गर्दै उनले अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा निर्णय गरिने बताएका छन्।

प्रधानमन्त्री शाहले लेखेका छन्, 'चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्।'

त्यसैगरी, उनले नागरिकलाई भ्रममा नपर्न, अपुष्ट सूचना नफैलाउन र अनावश्यक रूपमा नआत्तिन आग्रह गरेका छन्।

उनले सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै भनेका छन्, 'कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिले उठिबास रोक्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षा नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई नागरिकलाई उठिबास लगाउने मानवअधिकारविपरीतको कार्य रोक्न माग गरेका हुन् ...
— सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी संगठन खारेज गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हो । सन्दिप थापासहित पाँच जनाले दायर गरेको रिटमा सर्वोच्चले छलफलमा बोलाउने आदेश गरेको हो । २८ वैशाखमा दुवै पक्षलाई छलफलका लागि ...
— संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार छलफलका क्रममा ...
— कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिलाई नेपालको जानकारी र सहमतिविना गरिएको भन्दै ...
— सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल २०२६ मा कुल १ लाख ७ हजार ९३४ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष २०२५ को सोही महिना (१ लाख १६ हजार ४९०) को तुलनामा ७.३ प्रतिशतले ...