— काठमाडौंबाट १२ दिनदेखि हराइरहेकी महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, तारकेश्वर नगरपालिका–३, तिनपिप्लेकी सरिता तिवारीको शव गाडिएको अवस्थामा फेला परेको हो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टोखा नगरपालिका–२ का अनिल डंगोललाई पक्राउ गरेको छ । उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार, ११ वैशाखमा बस चढेर हिँडेकी तिवारी नभेटिएको भन्दै खोजतलासका लागि प्रहरी कहाँ निवेदन परेको थियो । त्यसयता विभिन्न विधिबाट उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
‘आज अपराह्न चाहिँ शिवपुरी जंगलमा शव भेटिएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पठाएका छौं,’ भट्टराईले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ प्रारम्भिक जाँचमा ढुंगाले हानेर उनको हत्या भएको जस्तो देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
तिवारी र डंगोलबीच एक वर्षदेखि चिनजान थियो । हत्याको कारण प्रहरीले खुलाइसकेको छैन । कर्तव्य ज्यान कसुरमा विस्तृत अनुसन्धानका लागि डंगोललाई ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।