: प्रहरीले भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा छापा मारेर क्यासिनो म्यानेजरसहित १९ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केही महिना अघि सञ्चालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै क्यासिनो खेल्दै आएको गुनासो थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मंगलबार राती क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुका साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २०० थान बरामद भएको उनले बताए ।
पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौं, ललितपुर, गुल्मी, पर्साका एक/एक जना रहेका छन् । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।