— सिद्धार्थनगरको रोयल कालिङ्गा क्यासिनो प्रवेश गरेर जुवा खेलिरहेको आरोपमा प्रहरीले १९ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
क्यासिनो नियमावलीविपरीत जुवा खेलिरहेको आरोपमा सिद्धार्थनगर–१० स्थित रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरीको संयुक्त टोलीले जुवा खेलाउने चार र खेल्ने कार्यमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको हो । उनका अनुसार सिद्धर्थनगर–६, गल्लामण्डीका अभयकुमार गुप्ता, सिद्धार्थनगर–२ का सुशान्त अधिकारी, सिद्धार्थनगर–१३ का सन्जय शाक्य र ओमसतिया–२ का निक्षेन्द नेपाल रहेका छन् ।
काठमाडौंका जीवन थापा, रूपन्देहीका आकाश गुप्ता, सुनारी मगर, अब्दुल कलाम जोलहा, अभिषेक शर्मा, शिव पाण्डे, रोहन विक भनिने तिलबहादुर विक, सुरज जयसवाल, रमेश यादव, निर्मल बस्याल र भरत थापा पक्राउ परेका हुन् ।
प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गुल्मीका नेत्र पोखरेल, ललितपुरका बाबुराजा महर्जन र पर्साको वीरगन्ज–७ का जंगकुमार अग्रवाल पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।
एक महिनाअघि प्रहरीले रूपन्देहीको मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा छापा मारेर जुवा खेलेको र खेलाएको आरोपमा नेपाली नागरिक पक्राउ गरेको थियो । रूपन्देहीमा ठूला–साना गरी करिब एक दर्जन क्यासिनो सञ्चालनमा छन् ।