मुख्य समाचार
अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमा बढ्दो द्वन्द्वका कारण हजारौं समुद्री कामदार अलपत्र
अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमा बढ्दो द्वन्द्वका कारण हजारौं समुद्री कामदार अलपत्र

: अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमा बढ्दो द्वन्द्वका कारण हजारौं समुद्री कामदार अलपत्र परेका छन् । इरानी बन्दरगाहमा करिब १० हप्तादेखि फसेका भारतीय समुद्री कामदार अनिश अनायासै इरान युद्धका प्रत्यक्ष साक्षी बनेका छन् । फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अपरेशन एपिक फ्युरी’ सुरु गर्नुभन्दा केही दिनअघि अनिश एउटा मालवाहक जहाजमार्फत शत्त अल–अरब जलमार्ग पुगेका थिए । त्यसयता उनी जहाजमै फसेका छन् ।

‘हामीले यहाँको सम्पूर्ण अवस्था भोगेका छौं, युद्ध, मिसाइल आक्रमण सबै’, आफ्नो पहिचान गोप्य राख्ने शर्तमा कुरा गरेका अनिशले भने । ‘हाम्रो मानसिक अवस्था निकै विचलित भएको छ ।’ अनिशका अनुसार केही भारतीय समुद्री कामदारहरू इरानको ४४ किलोमिटर लामो आर्मेनियासँगको स्थल सीमाबाट घर फर्किन सफल भएका छन् । तर धेरै अझै पनि तलब पाउने प्रतीक्षामा रहेका कारण त्यहीँ रोकिएका छन् ।

‘कतिपय भारतीय एजेन्टहरूको कारण फसेका छन्; उनीहरूले तलब पाएका छैनन्’, उनले भने । यी एजेन्टहरूले समुद्री कामदार भर्ती गर्ने, तलब व्यवस्थापन गर्ने र अन्य कर्मचारीसम्बन्धी काम गर्ने गर्छन् । ‘कतिपयलाई इरानी एजेन्टहरूले आर्मेनिया पुग्न आवश्यक डलर नदिने भन्दै रोकेका छन्।’



अनिशले आफू आलु, प्याज, गोलभेंडा र रोटी खाएर गुजारा गरिरहेको बताए । तर अन्य जहाजहरूमा खाना र पानी सकिन थालेको खबर उनले सुनेका छन् ।
इरानले अमेरिका र इजरायलको आक्रमणको प्रतिशोधस्वरूप होर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेपछि करिब २०,००० समुद्री कामदार फसेको अनुमान गरिएको छ । युद्धअघि यो जलडमरूमध्य विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक थियो, जहाँबाट विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास आपूर्ति र एकतिहाइ समुन्द्री मल व्यापार हुन्थ्यो ।

अप्रिल ७ मा वाशिंगटन र तेहरानबीच कमजोर युद्धविराम घोषणा भए पनि जलमार्ग वरपर निरन्तर भइरहेका आक्रमणका कारण समुद्री यातायात अझै ठप्प छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बिहीबार तीन अमेरिकी युद्धपोत होर्मुज पार गर्ने क्रममा मिसाइल, ड्रोन र साना डुङ्गाबाट आक्रमणमा परेको र ती खतरा ‘नष्ट गरिएको’ जनाएको छ ।

इरानको सेनाले भने अमेरिकी फौजले आफ्नो क्षेत्रीय जलक्षेत्रमा रहेको तेल ट्यांकरलाई निशाना बनाएपछि जवाफी कारबाही गरेको दाबी गरेको छ । तेहरानले अमेरिकामाथि किश्म टापुसहित नागरिक क्षेत्रहरूमा हवाई आक्रमण गरी युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाएको छ । युद्धभर इरानले शुल्क लिएर आफ्ना जलक्षेत्रमार्फत जहाजलाई सुरक्षित मार्ग दिने प्रस्ताव गरेको थियो, तर बीचबीचमा व्यावसायिक जहाजहरूमाथि गोलीबारी जारी राखेको थियो ।

त्यसैगरी, अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरू नाकाबन्दी गर्दै तेहरानको तेल निर्यात र विदेशी मुद्रा पहुँच अवरुद्ध गर्ने प्रयास गरेको छ । बेलायतस्थित समुद्री गुप्तचर कम्पनी लोयड्स लिस्टका अनुसार सोमबारसम्म कम्तीमा चार व्यावसायिक जहाजमाथि आक्रमण भएको थियो । फ्रान्सेली कम्पनी सएएमए सीजीएमद्वारा सञ्चालित एउटा कन्टेनर जहाजले बुधबार जलमार्ग पार गर्ने क्रममा आफू आक्रमणमा परेको जनाएको थियो ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार युद्ध सुरु भएयता कम्तीमा १० समुन्द्री कामदार मारिएका छन् ।

इरानको मर्चेन्ट मरीन युनियनले अप्रिल १ सम्म कम्तीमा ४४ इरानी समुद्री कामदार–जसमा डक कर्मचारी र माछा मार्नेहरू पनि छन्– मारिएको जनाएको छ । ट्रम्पले बुधबार अमेरिकी अधिकारीहरूले तेहरानसँग ‘धेरै राम्रो वार्ता’ गरेको र शान्ति सम्झौता ‘सम्भव’ रहेको बताए । तर दुवै पक्ष सम्झौतामा कति नजिक पुगेका छन् भन्ने अझै स्पष्ट छैन । शत्रुतामा आएको छोटो विरामका बेला केही जहाज होर्मुजबाट बाहिरिन सफल भए पनि प्रत्येक दिन नयाँ अनिश्चितता थपिएको श्रमिक समूहहरूले बताएका छन् ।

गत महिना इरानी फौजले दुई विदेशी झण्डावाला मालवाहक जहाज र तिनका चालकदललाई नियन्त्रणमा लिएको थियो । त्यस्तै अमेरिकी नौसेनाले खाडी र हिन्द महासागरमा इरानसँग सम्बन्धित तीन व्यावसायिक जहाज कब्जामा लिएको थियो । समुन्द्रमा फस्नुका साथै पक्राउ पर्ने डरले ‘अत्यधिक भयको अवस्था’ सिर्जना गरेको अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ का महासचिव स्टेफन कटनले बताए । ‘वर्षको सुरुदेखि नै सैन्य बलहरूले १७औं शताब्दीको जस्तो शैलीमा जहाज चढेर नियन्त्रण गरिरहेका छन्, जुन निकै डर लाग्दो छ’, उनले भने, ‘यी त सामान्य कामदार मात्रै हुन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...