: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली नागरिकले कुशासनको धेरै मूल्य चुकाइसकेको बताउँदै अब लाभांश लिने समय आएको बताएका छन्। अर्थमन्त्री वाग्लेले सरकारले विभिन्न पाँच विषयलाई आगामी बजेटमा मुख्य प्राथमिकतामा राख्ने गरी काम गरिरहेको बताउँदै भने, ‘नेपाली नागरिकले कुशासनको मूल्य चाँहि धेरै चुकाइसके, अब लाभांश लिने बेला आयो सुशासनको ।’
उनले भने, ‘आम जनताले महसुस हुने गरेर अर्को पाँच वर्षमा सुशासन दिने गरी सरकार अगाडि बढ्छ, तर पहिलो वर्ष नै केहि सुधार दिने गरीी काम गर्छौ ।’ संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा आगामी बजेटको तयारीबारे जानकारी दिंदै अर्थमन्त्री वाग्लेले आगामी बजेटको मुख्य प्राथमिकता अहिले नै खोल्न नमिले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रकै आधारमा आउने जानकारी गराए ।
उनले आगामी बजेटमा पाँच वटा विषय मुख्य प्राथमिकतामा पर्ने बताउँदै यी विषयमा सरकारले किन प्राथमिकतामा राख्यो र किन खर्च गर्दैछ भन्ने बजेटमा स्पष्ट पार्ने समेत बताए । अर्थमन्त्री वाग्लेले सरकारका प्राथमिकताका क्षेत्रहरु बजेटमा मुर्तरुपमा अंकसहित ल्याउने समेत बताए ।