। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस/रिसवत प्रकरणमा विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार वादी नेपाल सरकार र प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी गोरखा बारपाक सुलिकोट गाउँपालिका ७ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीले अदालतमा दिएको बकपत्र अनुसन्धानका क्रममा दिएको बयान र आरोप मागदाबी विपरीत रहेको पाइएपछि थप अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा पुडासैनीले आयोगसमक्ष दिएको बयानविपरीत विशेष अदालतमा २०८३ वैशाख ९ गते बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
साथै, चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको चेक ‘सुमित्रा कस्मेटिक एण्ड फेन्सी’का नाममा काटिएको र उक्त संस्थाकी सञ्चालक पुडासैनीलाई प्रदान गरिएको देखिएको अख्तियारको दाबी छ ।
उक्त चेक प्राप्त गरेपछि पुडासैनीले बैंकमा सटहीका लागि प्रयास गरेको तर सटही नभएपछि चेक फिर्ता गरेको तथ्यसमेत खुलेको आयोगले जनाएको छ । आयोगका अनुसार यसरी घुस लेनदेनमा सहयोग पुर्याउने कार्य कसुर भएको पुष्टि भएकाले उनलाई समेत कसूरदार ठहर गरिएको हो ।
यस प्रकरणमा पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिम कैद तथा जरिवाना मागदाबी गरिएको छ।