। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेको छ ।
संघका अध्यक्ष जगत बहादुर टमाटा ले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो ।
पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह, महिला तथा पुरुष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ ।
प्रशिक्षकहरूले आफ्नो मेहनत र समर्पणका कारण धेरै प्रतिभावान खेलाडी उत्पादन भएको र विभिन्न प्रतियोगितामा देशलाई सफलता दिलाउन योगदान पुगेको बताएका छन् । तर यस्तो योगदानका बाबजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा, भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको उनीहरूको भनाइ छ ।
संघले बढ्दो महँगीका बीच पुरानै सुविधा अनुसार काम गर्नुपर्दा प्रशिक्षकहरूको मनोबलमा असर परेको उल्लेख गर्दै सेवा–सुविधामा तत्काल सुधार गर्न क्यानसँग आग्रह गरेको छ ।
‘प्रशिक्षक बलियो भए मात्र देशको क्रिकेट बलियो हुन्छ’ भन्ने सन्देशसहित प्रशिक्षकको सम्मान सुनिश्चित गर्नुपर्ने माग पनि संघले अघि सारेको छ ।