मुख्य समाचार
एमालेका संसदीय दलका नेता बादलले बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ
एमालेका संसदीय दलका नेता बादलले बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ

। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ ।

उनले संसद्मा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाइएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

उनले रूलिङ गरेपनि कुन कुन शब्द हटेको भन्ने उल्लेख नभएपछि एमाले प्रमुख सचेतक ऐन महरले त्यसबारे जानकारी गराउन भनेका थिए ।

‘खासगरी प्रतिनिधिसभा नियमावली नियम २१ घ मा असंसदीय शब्द र अशिष्ट शब्दको बारेमा व्याख्या गरिएको छ । यसको विषयमा लिएर हाम्रो दलको नेताले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन भन्नुभयो,’ महरले भने, ‘म जानकारी लिन चाहन्छु, कुन कुन शब्द अशिष्ट भयो, त्यसको जानकारी लिन चाहन्छु ।’

त्यसपछि सभामुख अर्यालले सांसद थापाका शब्दहरू हटेकोबारे जानकारी गराएका थिए । ‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको उनले जानकारी गराए ।

‘सभालाई अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने ।

के भनेका थिए बादलले ?

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले थापाले रास्वपाको उदय, जेनजी आन्दोलनका क्रममा देखिएका दृष्य र नेपाली सेनाबारे प्रश्न उठाएका थिए ।

‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?’ उनले भनेका थिए, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?’

देशमा एक्लौटी शासन गर्ने योजनाबद्ध प्रक्रियामा रास्वपा रहेको तर्क गरेका थापाले नीति तथा कार्यक्रमले नसमेटेको टिप्पणी गर्दै थप भनेका थिए, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’

रास्वपालाई ‘अराजक भीड’ भन्दै थापाको कडा अभिव्यक्तिप्रति रास्वपा सांसदहरुले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ रास्वपा सांसदहरूले थापाको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए ।

सांसदहरूको आचरणबारे नियमावलीमा के छ ?

प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरू छन् । जसलाई छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्दछ ।

जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ ।

सभामुखले ‘पद अनुकूल आचरण गरेको छैन’ भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।

संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने विषय पनि छ ।

साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रावधान छ ।

बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय पनि नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् । बागमती प्रदेशस्तरीय विशेष भेलालाई बुधबार सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । नेता सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए ...
। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । खनालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारीबाट अलग भएको बताएका हुन् । उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण भने खुलेको छैन । खनालले भने पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् । हिक्मतकुमार कार्की पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेशको आन्तरिक मामिला ...
। कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न नसक्दा विवाद बढेपछि लम्की क्षेत्रमा तनाव भएको हो । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरसहितका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै मेयर सुशीला शाहीविरुद्ध स्थानीय आन्दोलित भएका छन् । अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र गर्नुपर्ने धारणा अघि सारेकी छिन्। प्रतिनिधि सभाको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुुन्। प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू सम्बद्ध निकायहरूमा रिक्त रहेका पदहरूको पदपूर्ति रोस्टरबाट गर्ने भएको छ । ती निकायमा नियुक्ति तथा मनोनयनका लागि विज्ञ तथा इच्छुक व्यक्तिहरूको ‘रोस्टर’ (सूची) तयार गर्ने भन्दै मन्त्रालयले सूचना जारी गरेको हो । योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत सूचीमा दर्ता हुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता ...