मुख्य समाचार
नेपाल प्रहरीलाई नागरिकको भरोसाको संस्थाका रूपमा अझ मजबुत बनाउने
नेपाल प्रहरीलाई नागरिकको भरोसाको संस्थाका रूपमा अझ मजबुत बनाउने

— नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई नागरिकको भरोसाको संस्थाका रूपमा अझ मजबुत बनाउने बताएका छन् । प्रहरी संगठनलाई समयानुकूल, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी बनाउने अभियान जारी रहेको उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले शान्ति सुरक्षा कायम गर्नु मात्रै नभई नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिनु नेपाल प्रहरीको मुख्य दायित्व भएको बताए । उनले प्रहरी र समुदायबीचको सम्बन्ध बलियो भए मात्रै अपराध नियन्त्रण तथा सामाजिक शान्ति कायम गर्न सहज हुने धारणा राखे ।

‘प्रहरी जनताको सेवक हो । जनताको अपेक्षा अनुसार काम गर्नु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘नागरिकले प्रहरी कार्यालय पुग्दा डर होइन, भरोसा महसुस गर्नुपर्छ । त्यसका लागि संगठनभित्र सुधार र सेवामा पारदर्शिता आवश्यक छ ।’

कार्कीले पछिल्लो समय नेपाल प्रहरीले प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई आधुनिक बनाउने प्रयास गरिरहेको जानकारी दिए । उनले डिजिटल प्रणालीमार्फत उजुरी दर्ता, अनुसन्धान र तथ्यांक व्यवस्थापनलाई व्यवस्थित बनाइँदै गएको बताए ।

साइबर अपराध, लागूऔषध कारोबार, संगठित अपराध तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण अहिले प्रहरीका प्रमुख चुनौतीका रूपमा रहेका बताउँदै उनले यस्ता गतिविधिविरुद्ध नेपाल प्रहरीले विशेष अभियान सन्चालन गरिरहेको बताए । ‘अपराधको स्वरूप बदलिएको छ, त्यसैले अनुसन्धानको शैली पनि आधुनिक हुनुपर्छ,’ उनले भने, ‘प्रविधिको प्रयोगबिना अहिलेको अपराध नियन्त्रण सम्भव छैन ।’

महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । विद्यालय, समुदाय र स्थानीय तहसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सन्चालन गरिरहेको उनको भनाइ थियो । प्रहरी संगठनभित्र अनुशासन र आचरणलाई थप कडाइका साथ लागू गरिने उनले स्पष्ट पारे ।‘नेपाल प्रहरीप्रति जनताको विश्वास बढाउनु अहिलेको मुख्य लक्ष्य हो,’ उनले भने, ‘सेवामा ढिलासुस्ती, गैरजिम्मेवारी र अनुशासनहीनता स्वीकार्य हुँदैन ।’

कार्कीले युवा पुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन परिवार, विद्यालय र समाज सबै सचेत हुनुपर्ने बताए । लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरीले विद्यालय तथा समुदाय केन्द्रित अभियान सन्चालन गरिरहेको जानकारी पनि उनले दिए । उनले नागरिकको सुझाव र गुनासोलाई प्रहरीले गम्भीर रूपमा लिने उल्लेख गर्दै सेवा सुधारलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए ।

महानिरीक्षक कार्कीले संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युनोप्स)को २ करोड ४८ लाख ६६ हजार १ सय ८७ रुपैयाँको लागतमा निर्माण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक भवनको बुधबार रिबन काटेर समुद्घाटन गरेका हुन् । युनोप्सका अपरेसन को-अर्डिनेटर इन्द्र न्यौपाने र इन्फ्रास्टक्चर म्यानेजर शिशिर उपाध्यायले युनोप्सले नेपालमा ३८ जिल्लामा प्रहरी कार्यालयमा यस्ता ५८ भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनसक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको ...
— नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा बुधबार शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो । एक व्यक्तिले मंगलबार राति प्रहरीलाई फोनमार्फत ...
— नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता नगरेको भन्दै आपत्ति प्रकट गरेको छ । नेपाल बारले संवैधानिक परिषद्‌को निर्णयविरुद्ध पेस भएको रिट दरपिठ भए पनि त्यसविरुद्ध पेस भएको इजलासको निवेदन सर्वोच्चले दर्ता गर्न आनाकानी गर्नु संविधान प्रदत्त अधिकारमाथिको अवरोध भनेको छ । महासचिव केदार कोइरालाले जारी गरेको विज्ञप्तिमा सर्वोच्च प्रशासनले दर्ता वा दरपिठ ...
— गत २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् घरबारविहीन भएका पीडितको घर पुनःनिर्माणको विषयमा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । ६ वटा निर्णयमध्ये ४ वटा निर्णय पालिकासँग प्रत्यक्ष जोडिएका भए पनि उक्त बैठकमा एक जनाबाहेक अन्य पालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहेन । जिल्ला प्रशासन कार्यालयमा ...
— सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीलाई लिखित जवाफसहित छलफलमा पनि बोलाएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा सम्पत्ति आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको दाबी गरिएको दोस्रो रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश भने जारी गर्न अस्वीकार गर्दै छलफलमा बोलाएको ...