— अबको महिना दिनभन्दा कम समयमा ३२ वर्षपछि अमेरिकामा फिफा विश्वकप फर्किने छ । सन् १९९४ पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ । जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपको अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा छन् ।
अमेरिकी क्षेत्रमा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ नजिकिएसँगै आयोजक देशहरूमा फुटबलको माहोल तात्न थालेको छ । तीन वटै देशका मुख्य सहरमा हुने खेलका लागि फिफाले तयारी तीव्र पारेसँगै अमेरिका, क्यानडा र मेक्सिकोमा अहिले फुटबलको चर्चा सुरु भएको हो ।
अमेरिकाका ११, क्यानडाका २ र मेक्सिकोका ३ गरी १६ सहरको रंगशालामा हुने विश्वकपका लागि फिफाले तयारीलाई तीव्र बनाइरहेको छ । रंगशालाभित्र केही सामान्य पूर्वाधार निर्माण र बाहिरसमेत ठूला स्क्रिनसँगै हजारौं दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण, राजमार्ग, सार्वजनिक स्थान र सपिङ सेन्टरहरूमा डिजिटल प्रचारप्रसार भइरहेको फिफाले आफ्नो आधिकारिक पेजमार्फत सार्वजनिक गरेको छ ।
फिफाले तीन देशका १६ रंगशालामा हुने खेलका लागि १५ रंगशालाको नाम नै परिवर्तन गरेको जनाएको छ । ठूला व्यापारिक कम्पनीहरूले सञ्चालन गरिरहेका ती रंगशालाहरूमा कम्पनीकै नाम राखिएको र विश्वकप २०२६ मा ती कम्पनीहरू प्रायोजक नभएका कारण कम्पनीको नाम रहेका रंगशालालाई खेल अवधिभरका लागि फिफाले अलग नाम दिएको हो । फिफाले दीर्घकालीन ब्रान्डिङ नीतिसँग मेलखाने भएकाले ती कम्पनीहरूको कर्पोरेट प्रायोजित नामहरू खेल अवधिभरका लागि हटाएको फक्स स्पोर्ट्सले उल्लेख गरेको छ ।
फिफाले अमेरिकामा हुने खेलका लागि छनोट गरेको ११ वटै रंगशालाको नाम परिवर्तन गरेको छ । फाइनल प्रतिस्पर्धा हुने न्यु जर्सी राज्यको इस्ट रुथरफोर्टमा रहेको मेटलाइफ रंगशालालाई फिफाले विश्वकप अवधिभरका लागि न्युयोर्क न्यु जर्सी रंगशालाको नाम दिएको छ । सेमिफाइनल खेल हुने टेक्ससको आर्लिटन सहरमा रहेको एटी एन्ड टीलाई डालास रंगशालाको नाम दिइएको छ । यो रंगशाला अमेरिकाको लोकप्रिय खेल अमेरिकी फुटबलको डालास काउब्वाइजको घरेलु मैदान हो ।
फिफाले पहिलो चरणको रंगशाला अध्ययनका क्रममा डालासमा फाइनलका लागि समेत चयन गरेको थियो । केही प्राविधिक कारण देखाउँदै सेमिफाइनल डालासमा हुने निश्चित भएपछि फिफाले न्यु जर्सी न्युयोर्कमा फाइनल खेलाउने तयारी गरेको फक्स स्पोर्ट्सले उल्लेख गरेको छ । क्यालिफोर्निया राज्यको एङलउडमा अवस्थित सोफिलाई लस एन्जलस, टेक्ससको ह्युस्टन सहरमा रहेको एनआरजीलाई ह्युस्टन, जर्जियाको एटलान्टामा रहेको मर्सिडिज बेन्जलाई एटलान्टा, म्यासाच्युसेट्सको फक्सबरोमा रहेको गिल्लिटीलाई बोस्टन, फ्लोरिडाको मियामी गार्डेन्समा रहेको हार्डरकलाई मियामी, मिसौरीको कान्ससमा रहेको जीईएचए फिल्ड एट एरोहेडलाई कान्सस सिटी, पेन्सिल्भेनिया राज्यको फिलाडेल्फियामा रहेको लिन्कोन फाइनान्सियल फिल्डलाई फिलाडेल्फिया, क्यालिफोर्निया सान्टा क्लारामा रहेको लिभिल्सलाई सान फ्रान्ससिस्को वे एरिया र वासिङ्टन राज्यको सियाटलमा रहेको लुमेन फिल्डलाई सियाटल रंगशालाको नामले चिनिने भएको छ ।
फिफाले नामाकरण गरेका रंगशालाको मुख्य सहर, राज्य र महानगर/उपमहागरको नामले चिनिने छ । क्यानडामा हुने खेलका लागि चयन गरिएको दुई वटै रंगशालाको नाम परिवर्तन गरिएको छ । फिफाले आफ्नो वेबसाइट उल्लेख गरेअनुसार क्यानडाको टोरोन्टोमा अवस्थित बीएमओ फिल्डलाई टोरोन्टो र भ्यानकोभरमा रहेको बीसी प्लेसलाई भ्यानकोभर रंगलशालाको नाम दिएको छ ।
मेक्सिकोमा हुने खेलका लागि चयन गरिएको तीन रंगशालामध्ये दुई रंगशालाको नाम परिवर्तन गरिएको छ । मेक्सिकोको मेक्सिको सिटीमा अवस्थित इटाडियो एज्टिका रंगशालाको नाम यथावत् राखिएको हो । विश्वकप अवधिभर ग्वाडालुपेमा रहेको स्टाडियो बीबीभीएलाई स्टाडियो मोन्टेरे रंगशालाका रूपमा चिनिने छ ।
सन् १९९४ को विश्वकप फाइनल क्यालिफोर्नियास्थित रोजबल रंगशालामा भएको थियो । ९४ हजार दर्शकसामु ब्राजिलले इटालीलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै चौथो पटक विश्वकप जितेको थियो । त्यसयता अमेरिकाले पहिलो पटक विश्वकप आयोजना गरिरहेको हो ।
३९ दिनसम्म चल्ने विश्वकपमा ४८ देशबीच प्रतिस्पर्धा हुनेछ । कुल १ सय ४ खेल हुनेछ । विश्वकपमा पहिलो पटक सबैभन्दा बढी ४८ देशको सहभागिता हुँदै छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ टिम छन् । २०२२ मा कतारमा भएको विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको थियो । फ्रान्ससँग फाइनलमा प्रतिस्पर्धा गरेको अर्जेन्टिनाले पेनाल्टी शुटआउटमा ४–२ को नतिजा निकालेको थियो ।
कुन रंगशालाको क्षमता कति ?
फिफाले विश्वकप २०२६ का लागि छनोट गरेका १६ वटै रंगशालाको क्षमता ४५ हजारमाथि छ । विश्वकपका खेल हुने रंगशालामध्ये सबैभन्दा बढी क्षमताको टेक्ससको डालास र सबैभन्दा कम क्षमताको क्यानडाको टोरोन्टो हो ।
डालासको रंगशाला ९२ हजार ९ सय ६७ सिट क्षमताको हो । जहाँ फिफाले फाइनलका लागि समेत तयारी गरेको थियो । प्राविधिक कारण देखाउँदै डालासमा फाइनल खेल नहुने भएपछि यहाँ सेमिफाइनलसहित ९खेल हुनेछ । सबैभन्दा कम क्षमता रहेको टोरोन्टो ४५ हजार ७ सय ३६ सिट क्षमताको हो ।
फाइनल खेल हुने न्युयोर्क न्यु जर्सी रंगशालाको क्षमता ८७ हजार १ सय ५७ रहेको छ । एटलान्टाको ७५ हजार, भ्यानकोभरको ५४ हजार ५ सय, बोस्टनको ७० हजार, स्टाडियोको ८७ हजार ५ सय २३, स्टाडियो ग्वाडालाजाराको ४८ हजार ७१, स्टाडियो मोन्टेरको ५३ हजार ५ सय, ह्युस्टनको ७२ हजार २ सय २०, कान्ससको ७६ हजार ६ सय ४०, लस एन्जलसको ७० हजार २ सय ४०, मियामीको ६७ हजार ५ सय १८, फिलाडेल्फियाको ६९ हजार ३ सय २८, सान फ्रान्सिस्कोको ७० हजार ९ सय ९ र सियाटलको ६९ हजार क्षमता रहेको फक्स स्पोर्ट्सले जनाएको छ ।