मुख्य समाचार
अस्पतालको ३८ लाख हिनामिना गरेको आरोपमा पाँच जना पक्राउ
अस्पतालको ३८ लाख हिनामिना गरेको आरोपमा पाँच जना पक्राउ

— चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ३८ लाख बढी रकम हिनामिना भएको तथ्य बाहिरिएको करिब एक महिनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । शिवराज नगरपालिकाले चन्द्रौटामा संचालन गरिरहेको अस्पतालको रकम हिनामिनामा संलग्न रहेको आरोपमा मंगलबार पाँच जनालाई पक्राउ गरेको हो ।

गत आव ०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालको नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा रहेको खातामा जम्मा हुनुपर्ने ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ नदेखिएपछि रकम हिनामिना भएको कुरा बाहिर आएको हो । तर, उक्त रकम जम्मा गरेको भनेर देखाइएको १ सय २९ वटा भौचर भेटिए पनि बैंक स्टेटमेन्टमा रकम जम्मा भएको नदेखिएपछि उक्त रकम असुलउपर गर्नुपर्ने राय लेखेको लेखा परीक्षक लक्ष्मण निरौलाले बताए ।

रकम हिनामिना भएको घटना बाहिरिएपछि वैशाख ४ गते शिवराज नगरपालिकाका प्रमुख अजय थापाले वडा प्रहरी कार्यालय, चन्द्रौटालाई पत्राचार गरेका थिए । आर्थिक रकम हिनामिना र किर्ते भौचर सम्बन्धमा अनुसन्धान गरी पाउँ भनेर दोषी देखिएका पक्षलाई कडा कानुनी प्रक्रिया अघि बढाइदिन भन्दै निवेदन दिएका थिए । तर, निवेदन कारबाहीभन्दा पनि जानकारी र सूचनामूलक भएकाले प्रहरीले खासै चासो दिएन । महिनादिन हुन लाग्दा पनि कारबाही प्रक्रिया अघि नबढेपछि स्थानीय स्तरमा नगरपालिकाविरुद्ध टीका–टिप्पणी र आलोचना बढिरहेको थियो ।

यसपछि नगरपालिकाले सक्रियता देखाउँदै रकम हिनामिनाबारे खोज अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आइतबार शिवराज नगरपालिकाको कार्यपालिका बैठक बसेर किटानी जाहेर दिने निर्णय गरेको थियो । यसपछि अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं ५ का वडाध्यक्ष नेत्र बेल्बासेले सोमबार वडा प्रहरी कार्यालय, चन्द्रौटामा चार जना अस्पतालका कर्मचारी मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डे, तत्कालीन प्रशासन प्रमुख वीरेन्द्र मिश्र र फार्मेसिस्टद्वय लक्ष्मण रिजाल र रुक्साना खातुनविरुद्ध किटानी जाहेरी दिए । जाहेरी दर्ता हुनासाथ प्रहरीले महाराजगन्ज नगरपालिका–१, घर भई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डे र शिवराज नगरपालिका–५, घर भएकी अस्पतालकी फार्मेसिस्ट खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

पक्राउ परेकाबाट नयाँ तथ्य आएकाले फेरि अस्पताल अध्यक्ष बेल्बासेबाट थप केही व्यक्तिको नाम राखेर पुरक जाहेरी लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पुरक जाहेरीका आधारमा थप तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–५, नामीनगर घर भएका शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणी भट्टराई, गुल्मी सत्यवती गाउँपालिका–५, घर भएका नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमलप्रसाद भण्डारी र शिवराज नगरपालिका–३, मदवा घर भई बैंककै चन्द्रौटा शाखामा कार्यरत रहेर अहिले रूपन्देहीको मणिग्राम शाखामा सरुवा भएका कार्यालय सहयोगी विक्रम केसीलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ । पाँच जनालाई अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । किटानी जाहेरी परेका तत्कालीन प्रशासन प्रमुख वीरेन्द्र मिश्र (हाल शिवगढी स्वास्थ्य चौकी इन्चार्ज) र फार्मेसिस्ट लक्ष्मण रिजाल भने फरार छन् ।

यो घटनाका दुई पाटा छन् । एउटा अस्पतालका कर्मचारी र अर्को बैंकका कर्मचारी ह्न् ु। तर, बैंकको प्रधान कार्यालयले गरेको छानबिनमा बैंक कर्मचारीको त्रुटि र कमजोरी नदेखिएको प्रतिवेदन दिएपछि अस्पतालका कर्मचारी छानबिनमा तानिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक सन्तोष आचार्यले बताए । ‘अहिलेको अनुसन्धानले छानबिन निष्कर्षमा पुग्छ,’ उनले भने, ‘प्रारम्भिक छानबिन निकै सकारात्मक छ ।’

अस्पतालमा कार्यरत विभिन्न व्यक्तिको नाम उल्लेख गरी नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा एक वर्षभित्र १ सय २९ वटा भौचरमार्फत रकम जम्मा गरेको भौचरको अभिलेख छ । तर, बैंकमा जम्मा गरिएको भौचरमा बैंकमा रकम बुझ्ने कर्मचारीको नक्कली हस्ताक्षर र नक्कली छाप लगाइएको बैंकले जनाएको छ । भौचरमा अनावश्यक रुजु गरेको चिह्न लगाइएको र पैसा जम्मा गर्न जाने एक जना र भौचरमा अर्काको नाम लेख्ने गरेको पाइएको छ । भौचरमा लागेको रबर छाप र बैंकले प्रयोग गर्ने रबर छाप फरक छन् । यसले पनि अनियमितताको आशंका थपेको छ ।

घटनाको वास्तविकता बाहिर आउन ढिलो हुँदा नगरपालिकाप्रति धेरै प्रश्न तेर्सिएकाले दोषीलाई कारबाही होस् भनेर किटानी जाहेरी दिएको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । अब प्रहरीले निष्पक्ष रूपमा छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । घटना सार्वजनिक भएको लामो समयसम्म पनि ठोस कारबाही फ्रक्रिया अघि नबढ्दा स्थानीय स्तरमा आक्रोश र असन्तोष बढ्दै गएको थियो ।

नेत्रत्रिवम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समितिले अस्पतालको रकम अनियमितता गर्नेविरुद्ध कारबाहीको माग गर्दै सोमबार शिवराज नगरपालिका घेराउ गरेको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चा शिवराज नगर कमिटीले रकम हिनामिना गर्नेविरुद्ध कडा कारबाहीको माग गर्दै सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...