। पहाडै–पहाड पाँचथरको कचिवाभञ्ज्याङबाट बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना सुरु भएको १७ वर्षमा पनि पुरा हुन सकेको छैन ।
नेपाल सरकारको आन्तरिक श्रोतबाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आर्थिक वर्ष २०६४/६५ देखि मध्यपहाडी लोकमार्ग आयोजना सन्चालनमा छ । नेपाल सरकारले आर्थिक वर्ष २०६९/७० देखि यो आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा काम सम्पन्न गर्ने लक्ष्य भए पनि पुरा नभएपछि संशोधित लक्ष्य २०८४/८५ राखिएको छ । अहिले भइरहेको कामको गति र ठेक्का लगाउनु पर्ने बाँकी सूची हेर्दा अझै निर्धारित समयमा आयोजना सम्पन्न हुन कठिन देखिएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय काठमाडौंका अनुसार १ हजार ८ सय ७९ किलोमिटरमध्ये ३ सय २८ दशमलव ३६ किलोमिटरमा कालोपत्रे हुन बाँकी छ । निर्देशनालयका सूचना अधिकारी सचिन श्रेष्ठका अनुसार १ सय ११ किलोमिटर सडक कालोपत्रे गर्ने कामको ठेक्का लाग्नै बाँकी छ । यस्तै, १८ वटा पुलको ठेक्का व्यवस्थापन गर्न पनि बाँकी छ ।
ठेक्का लागेका कामको गति सुस्त छ । पाँच वटा योजना कार्यालय मार्फत लगाइएको ३१ वटा ठेक्काको काममा ठेकेदार कम्पनीले ढिलाइ गरेको आयोजना निर्देशनालयको भनाइ छ ।
‘ठेकेदारले काम नगरिदिँदा समस्या भएको छ । धेरै ठेक्का रुग्ण भएका छन् । बजेटको अभाव छैन तर ठेकेदारहरुले काम नै गर्दैनन्,’ आयोजना निर्देशक बुद्धरत्न तुलाधरले भने, ‘रुग्ण ठेक्कालाई के गर्ने भन्ने निर्णय भएको छैन । ठेकेदारको काम द्रुत भयो भनेमात्र आर्थिक वर्ष २०८४/०८५ मा काम सकिने अवस्था छ ।’ नयाँ ठेक्काका लागि योजना बैँकमा पठाइएको तुलाधरको भनाइ छ । बजेट प्राप्त भए ठेक्का लगाउँदै जाने उनको भनाइ छ ।
आयोजनाको हालसम्म ८३ दशमलव २९ प्रतिशत प्रगति भएको छ । हालसम्म १ हजार ५ सय ५० दशमलव ६४ किलोमिटर कालोपत्रे भएको छ । यसमध्ये अन्य आयोजनाबाट कालोपत्रे बनेका ४ सय ६२ सडक रहेका छन् । आयोजना लम्बिएसँगै लागत पनि बढ्दै गएको अवस्था देखिन्छ । निर्देशनालयका अनुसार हालसम्म ७२ अर्ब ४२ करोड बजेट खर्च भएको छ ।
मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरको चिवाभञ्ज्याङ
आयोजनाको संशोधित अनुमानित लागत ८४ अर्ब ३३ करोड पुगेको छ । एउटा आयोजना सम्पन्न कति समय लाग्ने भन्ने प्रश्न उब्जिरहेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्व सचिव अर्जुनजंग थापा संशोधित रूपमा आर्थिक वर्ष २०८४/८५ काम सम्पन्न गर्ने लक्ष्य राखेपनि सम्पन्न हुने छाँट नदेखिएको बताउँछन् ।
‘धादिङ–गोरखा खण्डमा बुढीगण्डकी परियोजनाका कारण एलाइमेन्ट टुङ्गो लागेको छैन । केही ठाउँमा जग्गा तथा घर टहराका कारण विवाद छ । चिवाभञ्ज्याङ–थर्पु खण्डमा ठेकेदारले समयमा काम गरेका छैनन् । केही ठेक्का लगाउन बाँकी छ । लागेका ठेक्काको पनि काम समयमा नगरिदिँदा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने लक्ष्य प्रभावित भएको छ,’ उनले भने ।
जग्गा विवाद, निर्माण व्यवसायीको ढिलाइ, तीन सरकार बिचको समन्वय अभाव, बजेट जस्ता कारणले पनि काममा ढिलाइ भएको उनको भनाइ छ । ‘मध्यपहाडीमा विभिन्न डिभिजन, तत्कालीन जिविस लगायतका बनाएका टुक्रा–टुक्रा सडक समेत जोडिएको छ’ थापा भन्छन्, ‘त्यही भएर कतिपय ठाउँमा घुमाउरो छ । यसलाई छोट्याउनु पर्ने पनि छ ।’
उनले राष्ट्रिय गौरवको आयोजनामा केही वर्ष यता बजेट पनि घटेकाले नयाँ ठेक्काका लागि बहुवर्षीय स्रोत सहमतिका लागि प्रयास भइरहेको जानकारी दिए । ‘गौरवका आयोजनामा बहुवर्षीय ठेक्का अघि बढाउने नीति रहेको छ,’ उनले भने ।
ठाउँ–ठाउँमा प्रयोग गरिएका पुराना राजमार्ग स्तरोन्नति गर्न बाँकी छ । अछामाको चौखुट्टेसम्म २ सय ४३ किलोमिटर पुरानै राजमार्गको प्रयोग गरिएको छ । ४ सय ६३ किलोमिटर पुराना सडक प्रयोग गरिएको छ ।
मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा रहेको महाकाली नदी । पारिपट्टि भारतीय बजार ।
चालु आर्थिक वर्षमा ३४ दशमलव ३२ प्रतिशतमात्र खर्च हुन सकेको छ । विनियोजित ३ अर्ब ८४ करोड ३६ लाख बजे मध्ये चैत मसान्तसम्ममा १ अर्ब ३१ करोड ९१ लाख ६८ हजारमात्र खर्च भएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा हालसम्म ३९ किलोमिटर कालोपत्रे सडक बनेको छ । ६ वटा पुल सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ३ वटा सम्पन्न भएका छन् ।
कुन–कुन ठेक्का लाग्न बाँकी ?
मध्यपहाडी लोकमार्गको सडकका ९ वटा र पुलको १८ वटा ठेक्का लगाउन बाँकी छ । काममा ढिलाइ भएपछि तोडिएका ठेक्का पुन: लगाइएको छैन । तेह्रथुममा १३ दशमलव ७ किलोमिटर, खोटाङमा १० किलोमिटर र सिन्धुलीमा ४ दशमलव ५ किलोमिटर सडकको ठेक्का तोडिए पनि पुन: ठेक्का लागेको छैन ।
बुढीगण्डकी परियोजनाका कारण गोरखामा २९ दशमलव ७३ किलोमिटर, रामेछापको पलासे–राकाथुम १४ किलोमिटर, जोरधारा– चौरिखोला (रामेछाप/गोरखा) १३ किलोमिटर र काभ्रेको चौरिखोला–दौलालघाट १६ दशमलव ५३ किलोमिटर ठेक्का लगाउन बाँकी छ ।
बागलुङमा ५ दशमलव ४६, लमजुङमा १ दशमलव ७ र दैलेखमा २ दशमलव ५ किलोमिटर कालोपत्रेको ठेक्का लाग्न बाँकी छ ।
रुकुम र जाजरकोट जोड्ने भेरी नदीको पुल नबन्दा समस्या छ । घुमेर यात्रा गर्नुपर्ने बाध्यता छ । झोलुङ्गे पुलबाट मोटरसाइकल चलेपनि गाडीलाई भने घुम्नु पर्छ । भेरी नदीमाथि ९८ दशमलव ५० मिटर लामो पुलको काम पटक–पटक म्याद थप्दापनि ठेकेदारले काम नगरेपछि तोडिएको थियो । यहाँ पुन: ठेक्का लाग्न सकेको छैन ।
ठेक्का तोडिएको सिन्धुलीको खांगसांग खोला पुल, सोखु खोला पुल, खोटङको पंखु खोला पुलको पनि पुन: ठेक्का लागेको छैन । पाँचथरको फलाम खोला र ओयाम खोलाको पुलमा बाढीले क्षति पुर्याएको छ ।
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड
सुनकोसी नदीमा ३ सय ३४ मिटर, झ्दादी खोला सिन्धुपाल्चोकमा पुलका लागि फिजिबिलिटी स्टडीमात्र भएको छ । रामेछापको जगेनी खोला, सिन्धुपाल्चोकको कान्ले खोला, रिपेनी खोला, खार खोला गोरखा, पिस्तीखोला लमजुङ, खांडु खोला पर्वतको पुलको ठेक्का लाग्न बाँकी रहेको छ । साई खोला दैलेख र विजयपुर खोला कास्कीको डिपिआर हुन् बाँकी छ ।
कुन ठाउँको के काममा ढिलाइ
योजना कार्यालय पाँचथर, रामेछाप, गोरखा, पर्वत, दैलेखबाट ३१ वटा ठेक्का लगाइएका छन् । धेरैजसो ठेक्का ‘लो बिड’मा ठेकेदारले लिएका छन् । निर्देशनालयका अनुसार धेरै ठेक्कामा ठेकेदारको ढिलाइ रहको छ । थोरैमा मात्र अवरोध छ ।
पाँचथरबाट ६ वटा ठेक्का चालु छन् । सुरुवात विन्दु मानिएको तीन प्याकेजमा चिवाभञ्ज्याङदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्र गर्ने काम लथालिङ्ग छ । ठेकेदारले काम नगर्दा २०७७ सालमा १ अर्ब ४७ करोडमा ठेक्का उक्त कामको प्रगति न्यून छ ।
तेह्रथुममा २०७२ सालमै लगाइएको १० किलोमिटर कालोपत्रे गर्ने काम अझै पुरा भएको छैन । खदुवा खोला पुलमा पनि ढिलाइ भएको छ ।
योजना कार्यालय रामेछापले ४ वटा ठेक्का लगाए पनि प्रगति राम्रो छैन । बाहुनेपाटी–दोलालघाटको पहिलो खण्ड १४ दशमलव ५ किलोमिटर कालोपत्रेमाको काममा निर्माण व्यवसायीको लापरबाही र पहिरोको अवरोध छ । दोस्रो खण्ड १६ दशमलव ५३ किलोमिटर कालोपत्रे र सिट्का खोला पुलमा पनि ठेकेदारको ढिलासुस्ती छ ।
तेह्रथुममा कालोपत्रे हुन नसकेको सडक
गोरखा कार्यालय अन्तर्गत १५ वटा ठेक्का छन् । यहाँका धेरै ठेक्कामा ठेकेदारको ढिलाइ र विभिन्न ठाउँमा विवाद अनि पहिरोले काम हुन नसकेको निर्देशनालयले जानकारी दिएको छ । लमजुङ, नुवाकोटका विभिन्न ठाउँमा अलाइनमेन्ट विवाद, घर टहरा तथा वनको समस्या छ ।
पर्वत योजना कार्यालय अन्तर्गतको भैसें–अर्मालकोट–लामाचौर यम्दी खण्डको ३८ दशमलव ८ किलोमिटर सडकमा रेखाङ्कन विवाद छ ।
योजना कार्यालय दैलेख मार्फत लगाइएको ८ वटा ठेक्काको काममा समेत ढिलाइ भएको छ ।
पहाडका गाउँ–गाउँमा सुविधा
पहाडै–पहाड पूर्व–पश्चिम यात्रा गर्न सकिने विकल्पको रूपमा रहेको मध्यपहाडी लोकमार्गले नेपालका विभिन्न गाउँमा सुविधा पुर्याएको देखिन्छ ।
विगतमा राजमार्ग नभएका तथा राजमार्गको पहुँच कम रहेका जिल्लाका दुर्गम क्षेत्रसम्मका बासिन्दाले सडक सुविधा पाएका छन् ।
मध्यपहाडका २ सय २५ बस्ती यो सडकले जोडेको छ । कतै सहरीकरण भएको छ भने ठाउँ–ठाउँ सडक छेउ बस्ती बस्ने क्रम जारी छ ।
पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, सिन्धुली, रामेछाप, गोरखा, लमजुङ, बागलुङ, पूर्व र पश्चिम रुकुम, जाजरकोट, दैलेख, अछाम जस्ता जिल्लामा मध्यपहाडी लोकमार्गले बढी सुविधा पुगेको देखिन्छ ।
चिवाभञ्ज्याङमा नाका खुलेन, महाकालीमा बनेन पुल
लोकमार्गको सुरुवाती विन्दु पाँचथरको चिवाभञ्ज्याङमा भारतसँग नाका खुलेको छैन भने अन्तिम विन्दु मानिएको झुलाघाटको महाकाली नदीमा मोटेबल पुल बनाइएको छैन ।
चिवाभञ्ज्याङ भारतको सिक्किमसँग जोडिन्छ । सिक्किमले यहाँसम्म सडक ल्याएको छ । सिक्कमको नेपालसँग जोडिने एकमात्र सडक पनि यही हो । तर चिवाभञ्ज्याङमा नाका खुलेको छैन । यहाँ आइपुग्ने नेता तथा नीति निर्माणको तहमा रहेकालाई पटक–पटक अनुरोध गर्दा पनि पहल नभएको स्थानीयको भनाइ छ ।
झुलाघाटमा बैतडी र भारतको पिथौरागढ जोड्ने पुल बनाउन माग गरिएको वर्षौं भएपनि सुनुवाइ भएको छैन । झोलुङ्गे पुलबाट जोखिमपूर्ण तरिकाले आवागमन र सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ ।