। नेपाली कांग्रेसका सचेतक निश्कल राईले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले संसद्मा निरन्तर उपस्थित हुनुपर्ने भनेको स्मरण गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन इन्कार गरिरहेका बेला बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक राईले रास्वपाका सांसदहरूका विगतमा अभिव्यक्ति स्मरण गरेका हुन् ।
प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा रास्वपाका सांसद मनिष झाले भनेका थिए, ‘सदन एउटा चिया पसल र चौतारी होइन जहाँ मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन ।’
झाको यस्तो अभिव्यक्ति २३ चैत २०८२ मा प्रतिनिधिसभा बैठकमा आएको थियो । त्यसदिन सांसद झाले थपेका थिए, ‘सदन गुरुकुल हुनुपर्छ । विश्वविद्यालय हुनुपर्छ । जहाँ म होमवर्क गरेर आउँछु । म एउटा प्रश्न लिएर आउँछु । प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व आउँछ ।’
सांसद झाको यही अभिव्यक्ति कांग्रेस सचेतक राईले बिहीबार प्रतिनिधिसभाको बैठकमा स्मरण गरेका हुन् ।
तर, अहिले प्रधनमन्त्री बालेन शाहले गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थालेको भनेर उनले ब्यङ्ग्य गरेका हुन् । कांग्रेससहितका विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलका उठेका प्रश्नहरूको जवाफ प्रधनमन्त्रीले दिनुपर्ने माग गर्दै आएका छन् ।
तर आजको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिने दैनिक कार्यसूची छ ।