: सन्धिखर्क नगरपालिकाले सञ्चालन गरिरहेको गरीब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ३ को जयनेटामा अनुगमन गरिएको छ । नेपाल सरकारको गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले घरदैलोमै पुगेर तथ्यांक संकलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले संकलन भइरहेको तथ्यांक अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यही तथ्यांकका आधारमा संघ, प्रदेश र स्थानीय तहका सरकारले वास्तविक गरीब घरपरिवार पहिचान गरी राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा तथा सहुलियत प्रदान गर्ने जानकारी दिए ।
तथ्यांक संकलन कार्यलाई सफल बनाउन सबै नागरिकले सही र वास्तविक विवरण उपलब्ध गराई सहयोग गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । ‘सरकारले उपलब्ध गराउने सेवा–सुविधा वास्तविक लक्षित वर्गसम्म पुर्याउन तथ्यांक सही हुनु अत्यन्त आवश्यक छ ।’ सन्धिखर्क नगरपालिकाका १२ वटै वडामा अहिले तथ्यांक संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ । यस कार्यका लागि १७ जना गणक परिचालन गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताए ।
गणकहरू प्रत्येक घरपरिवारको घरदैलोमै पुगेर आवश्यक विवरण संकलन गरिरहेका छन् । नगरपालिकाले तथ्यांक संकलनका क्रममा कुनै भ्रम वा शंका भए सम्बन्धित वडा कार्यालय वा नगरपालिकासँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ । गरीब घरपरिवार पहिचान कार्यक्रममार्फत संकलन हुने तथ्यांकले आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी तथा अन्य विभिन्न सरकारी योजनाहरू लक्षित वर्गसम्म पुर्याउन महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।