मुख्य समाचार
झण्डै एक वर्षको बजेट बराबर बेरुजु
झण्डै एक वर्षको बजेट बराबर बेरुजु

। प्रचलित कानून र विधिविधान मिचेर राज्यकोषबाट खर्च भएको रकमको आकार करिब-करिब एक वर्षको बजेट बराबर हुन लागेको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको र त्यसलगत्तै सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनमा हालसम्मको कूल बेरुजु १५ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो ।




पछिल्लो एक वर्षमै करिब तीन खर्ब हाराहारीमा बेरुजु बढेको हो । गतवर्ष क‍ूल बेरुजुको रकम १२ खर्ब ८४ अर्ब थियो ।

चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्बको बजेट वक्तव्य जारी गरेको थियो । बजेट वक्तव्यको अनुपातमा हेर्दा कूल बेरुजुको रकम ८० प्रतिशत हाराहारीमा पुग्न लागेको छ । पाँच वर्षअघिको तुलनामा बेरुजुको रकम आधाले बढेको छ ।




महालेखा परिक्षक तोयम राया लगायत महालेखा परीक्षकको कार्यालयका उच्च पदस्थ अधिकारीहरूको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ६३ औं वार्षिक प्रतिवेदन बुझाएको हो । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राज्यकोषबाट भएको आर्थिक कारोबार र अन्य कामकारबाहीको लेखापरीक्षण गरेको हो ।

‘हामीले राज्यकोषबाट हुने खर्च र मितव्ययीता लगायत सार्वजनिक निकायको प्रभावकारिताको विषयलाई आठवटा शीर्षकमा विश्लेषण गरेर सुझाव दिएका छौं,’ लगत्तैको पत्रकार सम्मेलनमा महालेखा परीक्षक रायाले भने, ‘यो वर्ष स्थानीय सरकार लगायत केही निकायको बेरुजु घटेको छ । त्यसलाई संस्थागत सुधारको नतिजाको रुपमा विश्लेषण गरेका छौं ।’

सरकारले राज्यका विभिन्न निकायहरुमा विनियोजन गरेको खर्च भएपछि कानून बमोजिम भुक्तानी भए/नभएको विषयमा महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्छ । उसले त्यसक्रममा कानून अनुसार खर्च भए/नभएको, खर्चको औचित्य पुष्टि हुने कागजात राखे/नराखेको र खर्चको सदुपयोगको विषयमा समेत लेखापरीक्षण गर्छ ।

त्यसक्रममा कानुन विपरीत खर्च भएमा, खर्चको औचित्य पुष्टि हुन नसकेमा, कानुनसम्मत खर्च भएपछि त्यसको कागजात र प्रमाण पेश गर्न नसकेमा महालेखाले त्यसमाथि प्रश्न उठाई बेरुजु निकाल्छ । अर्कोतर्फ राजस्व प्रशासनले कानून बमोजिम कर उठाए/नउठाएको विषयमा समेत लेखापरीक्षण हुन्छ ।

यसपाली कति थपियो ?

महालेखा परीक्षक तोयम रायाले पछिल्लो एक वर्षमा ८८ अर्ब ९ करोड रुपैयाँ बेरुजु थपिएको बताए । कारबाही टुंगो लगाउनुपर्ने रकम २ खर्ब ३६ अर्ब छ । दुवै जोड्दा अनियमित रकम ३ खर्ब २४ अर्ब पुग्छ ।

तर महालेखा परीक्षकको कार्यालयले यस्तो आँकडालाई केही फरक रुपमा प्रस्तुत गर्दै आएको छ । केही वर्षयता महालेखा परीक्षकको कार्यालयले बेरुजु र बक्यौतालाई छुट्टाछुट्टै हिसाब गर्न थालेको छ ।

पछिल्ला केही वर्षयता महालेखाले अद्यावधिक बेरुजु र कारबाही गरी टुंगो लगाउनुपर्ने रकम फरक फरक रुपमा प्रस्तुत गर्छ । दुवै जोड्दा यसपाली थपिएको अनियमित रकमको अंक करिव सवा तीन खर्ब रुपैयाँ पुग्छ । उठाउन बाँकी रहेको राजस्वको आधार बढ्न थालेकाले बक्यौताको आकार पनि ठूलो हुँदै गइरहेको देखिन्छ ।



केही वर्षयता महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण हुन बाँकी रकम, राजस्व बक्यौता, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान र ऋण अनि जमानत बिसेर दिएको ऋणको भाखा नाघेको साँवाब्याजलाई बक्यौतामा हिसाब गर्दै आएको छ । उसले यस्तो आर्थिक बेथितिलाई बेरुजुभन्दा फरक शीर्षकमा देखाउन थालेको छ ।

महालेखा परीक्षक तोयम रायाले बेरुजु र बक्यौता रकमको बारेमा लेखा उत्तरदायी अधिकारी नै जवाफदेही हुनुपर्ने बताए । मन्त्रालयहरूको हकमा सचिवहरू, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कतिपय कार्यालयका प्रमुखहरु लेखा उत्तरदायी अधिकारी हुन्छन् ।

उनले प्रचलित कानूनमा भएको व्यवस्था अनुसार नै महालेखा परीक्षकको कार्यालयले अतिरिक्त सक्रियता देखाइरहेको बताए । रायाले भने, ‘हामीले वार्षिक प्रतिवेदनमा नै नाम उल्लेख गरेर को को लेखा उत्तरदायी अधिकारी हुनुहुन्थ्यो भनेर लेख्नेगरेका छौं । त्यहाँ भन्दा बढी के गर्नु ?’

बजेट हाराहारीकै रकम

गतवर्ष करिब १२ खर्ब रुपैयाँ बेरुजु रहेकोमा यसपाली करिव तीन खर्ब रुपैयाँ बढेको देखिन्छ । महालेखाको प्रतिवेदन अनुसार, यसपाली मात्रै करिब २ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व बक्यौता थपिएको छ । राजस्व बापत उठ्नुपर्ने भनी रकम किटान भएको तर राज्यकोषमा दाखिला नभएको रकमलाई राजस्व बक्यौता भन्ने गरिन्छ । बेरुजुमा राजस्व बक्यौताले ठूलो हिस्सा ओगट्ने गरेको छ ।

अहिलेसम्म मुलुकमा उठ्नुपर्ने कर तथा राजस्वको रकम नै सात खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । केही वर्षयता करदाताहरूले कर तिर्न आनाकानी गर्ने प्रवृति बढ्दो छ । कतिपय कर विवादहरू प्रशासनिक पुनरावलोकनका साथै अदालतमा पुगेकाले पनि राजस्व बक्यौताको आधार बढ्दै गएको हो ।

गतवर्षसम्म चार खर्ब ७२ करोड रुपैयाँ कर बक्यौता भएकोमा यसपाली मात्रै त्यसको आधाआधी हिस्सा अर्थात दुई खर्ब ३७ अर्ब रुपैयाँ थपिएको हो । यसपाली मात्रै भाखा नाघेको साँवाब्याज ३ अर्ब रुपैयाँ थपिएको छ । भाखा नाघेको साँवाब्याजको रकममात्रै ५२ अर्ब रुपैयाँ पुगेको छ ।



गत भदौको जेनजी आन्दोलनका कारण कयौं सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो । आगजनीका कारण १ सय ७९ निकायको कागजात नष्ट भएकाले लेखापरीक्षण हुन नसकेको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार, यसपाली लेखापरीक्षणकै क्रममा करिव १४ अर्ब रुपैयाँको हिसाब मिलेर बेरुजु लेखिएको छैन । महालेखा परीक्षक रायाले त्यसलाई उपलब्धीको रुपमा हेर्नुपर्ने बताए ।

उसका अनुसार, एक खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छैन । महालेखा परीक्षक तोयम रायाले अनलाइनखबरसँग भने, ‘विशेष परिस्थिति भएकाले यसरी लेखापरीक्षण हुन नसकेको रकमलाई बेरुजु वा टुंगो लगाउनुपर्ने रकम, कुनै शीर्षकमा पनि समावेश गरिएको छैन ।’

कहाँ कस्तो बेरुजु ?

पछिल्लो एक वर्षमा देखिएको ८८ अर्ब ९ करोड बेरुजुमध्ये संघीय सरकारको बेरुजु ५३ खर्ब ४८ करोढ रुपैयाँ छ । कूल बेरुजुको आधाभन्दा बढी रकम संघीय सरकारले ओगटेको देखिन्छ ।

स्थानीय तहहरूको १९ अर्ब बेरुजु छ । प्रदेश सरकारको हिस्सा सबैभन्दा कम अर्थात ५ अब २२ करोड रुपैयाँ मात्रै छ ।

महालेखाले बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नपर्ने र पेस्कीका रुपमा बर्गिकरण गरिरहेको छ । कानून विपरितको खर्च, बिल भरपाई पेश नगरेको र नियम मिचेर राज्यकोषबाट भुक्तानी भएको रकम असुल गर्नुपर्ने प्रकृतिको हुन्छ । यो एक वर्षमा ३२ अर्ब ६४ करोड रुपैयाँ असुल गर्नुपर्ने प्रकृतिको छ ।

खर्च भएको तर प्रक्रिया नपुर्‍याएको केही त्रुटी भएका कारण नियमित गर्नुपर्ने बेरुजु रहन्छ । महालेखाले औल्याएको प्रक्रिया पुर्‍याएर कागजात पेश गरेपछि यस्तो बेरुजु फर्स्यौट हुन्छ । ५० अर्ब रुपैयाँ यस्तो प्रकृतिको बेरुजु छ ।

प्रमाणका लागि कागजात पेश नभएका कारण ३६ अर्ब रुपैयाँ बेरुजु देखिएको छ । कागजात पेश भएपछि यस्तो बेरुजु फर्स्यौट हुन्छ । पेस्कीका कारण ५ अर्ब १७ करोड रुपैयाँ थप बेरुजु बनेको छ । कुनै कामका लागि राज्यकोषबाट अग्रिम रुपमा निकासा हुने रकमलाई पेस्की भनिन्छ । काम भएको विवरण र कागजात पेश नभएमा पेस्की बेरुजु रहन्छ ।

महालेखाका अनुसार, पछिल्लो तीन वर्षमा राज्यकोषबाट खर्च भएको रकम बेरुजु हुने अनुपात उही खालको छ । तीन वर्षअघि कूल लेखापरीक्षण रकमको १ दशमलब ६९ प्रतिशत रकम बेरुजु थियो । दुई वर्ष अघि त्यो रकम घटेर १ दशमलब २१ प्रतिशत भयो ।



गतवर्ष १ दशमलब ८१ प्रतिशत बेरुजु भएकोमा यसपाली १ दशमलब ८४ प्रतिशत रकम बेरुजु भयो । महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘संगठित संस्थाको बेरुजु सम्बन्धित संगठित संस्थाको बोर्डले नै फस्यौंट गर्ने भएकाले त्यस्ता संस्थाको बेरुजुको रकमगत लगत राखिएको छैन ।’

महालेखा परीक्षक रायाले सीमित जनशक्ति र अवधिका कारण सबै निकायको सबैजसो कागजात परीक्षण गर्न नसकिने भन्दै उनले जोखिम र कमजोरीयुक्त क्षेत्रको पहिचान गरी लेखापरीक्षण गर्ने नीति रहेको बताए । उनले भने, ‘जोखिम र कमजोरी भएका क्षेत्रलाई केन्द्रित गरेर नै लेखापरीक्षण गर्ने हाम्रो नीति हो ।’

महालेखाका अनुसार, सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु छ । उसले कूल बेरुजुको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि भौतिक पूर्वाधार, भूमि व्यवस्था, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरुजु छ । मधेश प्रदेशको सबैभन्दा बढी बेरुजु छ भने कोशी प्रदेशको सबैभन्दा कम छ ।

महालेखाका अनुसार, अर्थ मन्त्रालयको ३७ अर्ब ६३ करोड रुपैयाँ बेरुजु छ । भौतिक मन्त्रालयको बेरुजु साढे ७ अर्ब रुपैयाँमात्रै छ । अर्थ मन्त्रालयको बेरुजुले दुई तिहाईभन्दा बढी हिस्सा ओगटेको छ । राजस्व बक्यौतालाई समेत बेरुजु मान्ने हो भने अर्थ मन्त्रालयको बेरुजुको ग्राफ अझै बढ्छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार, करिव ५५ सय सरकारी कार्यालयहरुको लेखापरीक्षण गरिएकोमा जेनजी आन्दोलनका कारण आगजनी भएका कार्यालयहरुको लेखापरीक्षण हुन सकेको छैन । तीन वर्षदेखि महालेखाले अनलाईन लेखापरीक्षण प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याएको थियो । महालेखाले अनियमितता हुने जोखिम रहेका निकायमा स्थलगत र अरुको हकमा अनलाईन लेखापरिक्षण गर्ने नीति लिएको छ ।

के कस्तो बेथिति छन् ?

महालेखाका अनुसार, करिब दुई खर्ब रुपैयाँको कर विवाद न्यायिक निकायमा विचाराधीन छन् । प्रशासनिक पुनरावलोकन तथा राजस्व न्यायाधीकरण र सर्वोच्च अदालतबाट बेलैमा कर विवाद टुंगो नलाग्दा वार्षिक बजेटको १० प्रतिशतको हिस्सा ओगट्ने कर विवाद टुंगिएको छैन र राजस्व असुली हुन सकेको छैन ।

गतवर्ष करिव ४७ अर्ब रुपैंया रकमान्तर गरिएको थियो । आर्थिक वर्षको अन्त्यमा सरकारमा रहेका प्रभावशाली मन्त्री र अरु नेताले विभिन्न कार्यक्रमको बजेट रकमान्तर गरी आफू अनुकूल बजेट व्यवस्थापन गरेको भेटिएको हो । असार मसान्तमा मात्रै करिब ८० करोड रुपैयाँ त्यसरी रकमान्तर गरेर सारिएको थियो ।

करिब १५ वर्षयता पटकपटक गरी विभिन्न २७ वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरियो ।

तीमध्ये माथिल्लो तामाकोशी, पोखरा र भैरहवा विमानस्थलको निर्माण मात्रै सकिएको छ भने मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम मात्रै पूरा भएको हो ।

बाँकी आयोजना अधुरै छन् भने छ वटा जति आयोजना शुरु भएका छैनन् । रुपान्तरणकारी आयोजना भनिएका १७ वटा परियोजनाको अवस्था पनि उस्तै छ ।

महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणमा देखिएका समस्यालाई आठवटा क्षेत्रमा वर्गीकरण गरेर सुझाव दिइएको बताए । उनका अनुसार, शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापनको क्षेत्रमा सुझाव दिइएको छ ।

त्यसैगरी सार्वजनिक वित्त र विकास व्यवस्थापन, सुचना प्रविधि क्षेत्रको विस्तार र सुशासनको क्षेत्रमा पनि सुझाव दिइएको महालेखा परीक्षक रायाले बताए । उनले भने, ‘बुँदागत रुपमा ती क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सुझावहरु प्रस्तुत गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले कृषि क्षेत्र विकासका लागि एकै वर्ष ३२ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग र न्यायोचित वितरण हुन नसकेको पाइएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक वर्षमा विभिन्न १२ वटा अनुदान कार्यक्रम मार्फत कुल ३२ अर्ब १३ करोड ७९ लाख रुपैयाँ खर्च गरे तापनि ...
। लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्ला सहित ७ स्थानबाट सवारी दर्ता किताव नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा बिस्तार गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालय ...
। आउटसोर्सिङ मार्फत राखिने श्रमिकको श्रम शोषण हुने गरेको भन्दै सरकारले कडा कदम चालेको छ । सरकारले नेपाल राष्ट्र बैंक, श्रमिक आपूर्तिकर्ता कम्पनी लगायतलाई पत्र पठाउँदै श्रम ऐन अनुसार श्रमिकको अधिकार सुरक्षित गर्न कडा निर्देशन दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्र बैंकलाई श्रमिक आपूर्तिकर्ता मार्फत राखिने श्रमिकहरूको ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ ...
। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् । जेठ १ गते राति ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । चीनबाट भोटेकिशी-३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० ...