: भारतको उत्तर प्रदेशको बरेलीमा एक पुरुषले विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक विवाहित महिला र उनको परिवारमाथि एसिड प्रहार गरेका छन्। एसिड प्रहारबाट महिला, उनका श्रीमान् र दुई बच्चा घाइते भएका छन्।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि उत्तर प्रदेश प्रहरीले निगरानीमा राखेको छ। गम्भीर घाइतेमध्ये एकजनालाई जिल्ला अस्पताल रेफर गरिएको बताइएको छ।
घटना शेरगढ क्षेत्रमा भएको हो।
प्रहरीका अनुसार उमेश कश्यप नामका व्यक्तिले विवाहको प्रस्ताव अस्वीकार भएपछि आक्रोशमा आएर महिलासहित उनको परिवारमाथि एसिड प्रहार गरेका हुन्। परिवार सुतिरहेको बेला उनले आक्रमण गरेको र त्यसपछि परिवारका सदस्यहरू चिच्याएको बताइएको छ।
प्रहरीका अनुसार कश्यप ती महिलासँग विवाह गर्न चाहन्थे। तर, प्रस्ताव ठाडै अस्वीकार भएपछि उनले एसिड प्रहार गर्ने योजना बनाएका थिए।