: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरो टेक्दै ‘माउन्टेन क्विन’ उपनामले चिनिने लाक्पा शेर्पाले नयाँ कीर्तिमानी रचेकी छिन् ।
‘माउन्टेन क्विन’ उपनामले चिनिने शेर्पाले आज बिहान सगरमाथाको सफल आरोहण गरी महिलातर्फ विश्वमै सर्वाधिक आरोहण गर्ने आफ्नो ऐतिहासिक कीर्तिमानलाई थप उचाइमा पुर्याएकी हुन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै दुवै आरोहीहरूले आजैका दिन नेपालको राष्ट्रिय ध्वजालाई सगरमाथाको शिखामा फहराउन सफल भएकी हुन् ।
आज बिहान ९ः३० बजे ‘माउन्टेन क्विन’ लाक्पा शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् । सगरमाथा आधार शिविर (बेसक्याम्प) मा तैनाथ पर्यटन विभागको फिल्ड कार्यालयले आरोही शेर्पाको यो अभूतपूर्व र सफल आरोहणको आधिकारिक पुष्टि गरिसकेको छ ।
संखुवासभाको मकालु क्षेत्रमा जन्मिएकी लाक्पा शेर्पाको पर्वतारोहण इतिहास संसारकै महिलाहरूका लागि ठूलो प्रेरणाको स्रोत हो । सन् २००० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी लाक्पाले पुरुषप्रधान मानिने पर्वतारोहण क्षेत्रमा महिलाहरू पनि अद्वितीय र साहसी हुन सक्छन् भन्ने प्रमाणित गरेकी छिन् ।
हिमालप्रतिको आफ्नो अगाध लगावका कारण उनले हरेक आरोहणमा नयाँ रेकर्ड कायम गर्दै आएकी छिन् । आजको सफलताले उनको त्यो रेकर्डलाई अरु मजबुत बनाएको छ । पर्यटन विभागले आरोही शेर्पालाई बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्वतारोहण क्षेत्रलाई प्रवद्र्धन गरेकोमा आभार प्रकट गरेको छ ।