मुख्य समाचार
‘फ्री भिसा फ्री टिकट’मा ठगी, ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ
‘फ्री भिसा फ्री टिकट’मा ठगी, ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ

। सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकेट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपैयाँ तिरिसकेका थिए ।

तर, कोटेश्वरको ‘ग्रान्ड स्वीट जब’ नाम गरेको म्यानपावरले ‘३ लाख रूपैयाँभन्दा एक रूपैयाँ पनि कम लिन्न’ भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रूपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन ।

म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रूपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो । त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौं ओर्लिए ।

कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे । पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीले तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिएर आउन भने ।

त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए । अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन् ।

अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैं खटिए । केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो ।

म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागे । अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो । त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो ।

‘फ्री भिसा फ्री टिकेट’ नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो ।

‘ग्रान्ड स्वीट जब’का ती कर्मचारीको साथबाट चारवटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो । उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ ।

वैदेशिक रोजगारीको नाममा सोझा कामदारहरूलाई ठगी गर्ने र ‘फ्री भिसा फ्री टिकट’को नियम उल्लंघन गर्दै लाखौं रकम असुल्ने म्यानपावरका एजेन्ट पक्राउको घटनाले कसरी सोझा नागरिक ठगिइरहेका छन् भन्ने प्रमाणित गरेको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्री यादवका स्वकीय सचिव सरोज भन्छन्, ‘तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं । यो विशेष योजनामा साथ दिनु हुने प्रहरी अधिकारीहरूलाई हार्दिक धन्यवाद ।’

यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए । उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए ।

मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो ।

म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो । पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो ।

पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे पनि प्रहरीले ‘फ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेको ?’ भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए ।

प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ ।

पीडित यादवले खुसी व्यक्त गर्दै भने, ‘सुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो । तर जब भिसा आयो, तब ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो । गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ ।’

श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न अपिल समेत गरेको छ । पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धमाधम मर्मत भइरहेको छ । तोडफोड र आगजनीबाट क्षति भएका संरचना हटाएर निर्माणसँगै रंगरोगनको काम जारी छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृहमन्त्रालयका लागि निर्माण गरिएको भवनमा सारिएको छ। जेनजी आन्दोलनको क्रममा सिंहदरबारका प्राय: सबैजसो मन्त्रालय ध्वस्त भएका थिए ...
। चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल ...
। राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनी पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवम् पार्टीनिकट प्राज्ञिक परिषद्को अध्यक्ष थिए । खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए ।
। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलसँग असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै खड्काले राष्ट्रपति पौडेलको भूमिकासँग सांकेतिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् । खड्काले २०७९ को निर्वाचनपछि गठबन्धन भत्किएको र त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफैले लामो कुराकानी ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुई प्रदेश स्तरीय भेला आइतबार सकिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ शीर्षकमा गरिएको भेला १० बुँदे धारणा सार्वजनिक गर्दै सकिएको हो । सार्वजनिक गरिएको १० बुँदे धारणालाई ‘वृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सूत्र’ भनेर ...