मुख्य समाचार
सेन्ट्रल लन्डनमा दशौं हजार मानिसले दुई छुट्टाछुट्टै विरोध प्रदर्शन
सेन्ट्रल लन्डनमा दशौं हजार मानिसले दुई छुट्टाछुट्टै विरोध प्रदर्शन

। बेलायतको राजधानी लन्डन शनिबार अस्तव्यस्त बन्यो । सेन्ट्रल लन्डनमा दशौं हजार मानिसले दुई छुट्टाछुट्टै विरोध प्रदर्शनमा भाग लिए ।

एउटा प्रदर्शन उच्च आप्रवासन र बेलायती पहिचानमा कथित इस्लामिक खतराविरुद्ध थियो भने अर्को प्यालेस्टिनीहरूको समर्थनमा थियो ।

युनाइट द किङडम मार्चमा भाग लिने प्रदर्शनकारीहरू ह्वाइटहल हुँदै पार्लियामेन्ट स्क्वायरमा र्‍यालीमा जानुअघि किंग्सवेमा भेला भएका थिए ।

धेरैले युनियन झण्डा फहराएको देख्न सकिन्थ्यो भने केहीले ‘मेक इङ्गल्यान्ड ग्रेट अगेन (मेगा)’ लेखिएको रातो टोपी लगाएका थिए । प्रदर्शनमा ‘हामी स्टारमर (प्रधानमन्त्री) लाई बाहिर निकाल्न चाहन्छौं,’ भन्ने नारा पनि सुन्न सकिन्थ्यो ।
केही प्रदर्शनकारीले वर्तमान सरकारले विशेषगरी श्वेत कामदार वर्गलाई बेलायतमा भेदभाव गरिरहेको महसुस भएको बताएका थिए ।

प्रदर्शनकारीहरूले ‘बोर्डर कन्ट्रोल नाउ’ र ‘प्रोटेक्ट आवर कम्युनिटिज’ जस्ता नारासहित प्रदर्शन गरेका हुन् ।

आप्रवासी विरोधी प्रदर्शन टमी रोबिन्सनसमेत भनेर चिनिने इस्लाम विरोधी स्टिफन याक्सली लेननले आयोजना गरेका थिए ।

रोबिन्सनले राष्ट्रिय एकता, अभिव्यक्ति स्वतन्त्रता र इसाइ मूल्य-मान्यता कायम राख्न प्रदर्शन आयोजना गरिएको बताएका छन् ।

सरकारले ‘विदेशी अति दक्षिणपन्थी आन्दोलनकारी’ भनेका ११ जनालाई विरोध प्रदर्शनमा सम्बोधन गर्न बेलायत प्रवेश गर्न रोक लगाएको थियो ।

प्रतिबन्ध लगाइएकामा दक्षिणपन्थी व्यक्तिहरू पोलिस राजनीतिज्ञ डोमिनिक टार्कजिन्स्की, बेल्जियमका राजनीतिज्ञ फिलिप डेविन्टर, कोलम्बियाली अमेरिकी इस्लाम विरोधी टिप्पणीकार भ्यालेन्टिना गोमेज र डच कार्यकर्ता इभा भ्लार्डिङरब्रोक लगायत थिए ।

गत सेप्टेम्बरमा रोबिन्सनकै नेतृत्वमा भएको विरोध प्रदर्शनमा करिब एक लाख ५० हजार प्रदर्शनकारी भेला भएका थिए ।

त्यतिबेला अमेरिकी टेक अर्बपति एलन मस्कले उक्त प्रदर्शनमा भिडियो लिङ्कमार्फत प्रदर्शनकारीहरूलाई सम्बोधन गरेका थिए जसमा उनले किअर स्टारमरको सेन्टर लेफ्ट सरकारलाई हटाउन संसद् विघटन र नयाँ चुनाव आह्वान गरेका थिए । सेप्टेम्बरको प्रदर्शन हिंसात्मक भएकाले यस पटक प्रहरी बढी सजग थिए ।

प्रहरीले राजधानी लन्डन बाहिरबाट समेत थप सुरक्षाकर्मीसहित झण्डै चार हजार सुरक्षा अधिकारी तैनाथ गरेको थियो ।

मेट्रोपोलिटन प्रहरीले छुट्टाछुट्टै विरोध जुलुसहरू व्यवस्थापन गर्न बख्तरबन्द सवारी साधन, घोडा, कुकुर, ड्रोन र हेलिकप्टरहरू पनि तैनाथ गरेको थियो । महानगरीय प्रहरीले प्रदर्शनमा सुरक्षा व्यवस्थाका लागि ४.५ मिलियन पाउन्ड खर्च गरेको बताइएको छ ।

साँझ ६.३० बजेतिर दुवै प्रदर्शन सकिएपछि प्रहरीले ४३ जनालाई पक्राउ गरिएको बताएको छ । अप्रिय घटना नभई प्रदर्शन सकिएको प्रहरी निष्कर्ष छ । यस क्रममा चार जना प्रहरी अधिकारी सामान्य घाइते भए । प्रहरीले प्रदर्शनमा कम्तीमा ८० हजारको सहभागिता अनुमान गरेको छ ।

महानगरीय प्रहरीले यसलाई वर्षौंपछिको सबैभन्दा महत्त्वपूर्ण प्रहरी कारबाहीमध्ये एक भनेको छ । संयोग कस्तो भने, शनिबार नै दिउँसो एफए कप फाइनलका लागि वेम्बली स्टेडियममा दशौं हजार फुटबल प्रशंसक पनि उपस्थित थिए । एफए कप फाइनलमा अराजक गतिविधि गर्ने थप २२ जना पक्राउ परेका छन् ।

प्रधानमन्त्री किअर स्टाररले शुक्रबार युनाइट द किङडम प्रदर्शनका आयोजकहरूलाई ‘घृणा र विभाजनलाई फैलाएको’ आरोप लगाएका थिए ।

उता, नक्बा दिवसको अवसरमा प्यालेस्टिनी समर्थकहरूको प्रदर्शन भने केन्सिङ्टनबाट सुरु भएर पिकाडिली हुँदै वाटरलूतर्फ लागेको थियो ।

नक्बा दिवस सन् १९४८–४९ मा इजरायल निर्माणताका भएको युद्धका क्रममा भागेका वा घरबाट लखेटिएका प्यालेस्टिनीहरूको विस्थापनलाई स्मरण गरेर मनाइन्छ ।

त्यसका प्रदर्शनकारी धेरैले आफूलाई नरसंहार विरोधी र फासीवादी विरोधीका रूपमा वर्णन गरेको बीबीसीले जनाएको छ ।

बेलायतमा बढ्दै आप्रवासी विरोधी भावना

सरकार र विपक्षीबीच आप्रवासन नीतिबारे बहस चर्किरहेका बेला अहिले आप्रवासी विरोधी भावना बढिरहेको छ । प्रदर्शनकारीहरूले बेलायत सरकारले आप्रवासन नियन्त्रणमा कडाइ गर्नुपर्ने माग गरेका छन् । उनीहरूको भनाइमा पछिल्ला वर्षहरूमा बढ्दो आप्रवासनले देशको सार्वजनिक सेवा, रोजगारी र आवास संकट बढाइरहेको छ ।

विश्लेषकहरूका अनुसार आप्रवासन अब केवल नीतिगत विषय मात्र नभई सामाजिक र राजनीतिक बहसको केन्द्र बन्दै गएको छ । यही कारण यस्ता प्रदर्शनहरू पछिल्ला वर्षहरूमा झन् ठूलो र प्रभावशाली बन्दै गएका छन् ।

बेलायती राजनीति नजिकबाट नियालिरहेका लन्डन निवासी सुधीर गौतम अहिलेको असन्तुष्टिले बढ्दो विभाजन, भावनात्मक राजनीति र मानिसहरूमा बढ्दो राजनीतिक निराशालाई झल्काउने बताउँछन् ।

धेरै वर्षसम्म बेलायतको राजनीति दुई मुख्य दलले चलाएका थिए । तर अहिले धेरै मानिस ती दुवै दलसँग निराश छन्, गौतम भन्छन्, ‘यही कारणले नयाँ राजनीतिक दलहरूप्रति समर्थन बढिरहेको छ। धेरै मानिस सबै नीतिसँग सहमत नभए पनि पुराना दलहरूबाट दिक्क भएर नयाँ विकल्पतर्फ गइरहेका छन् ।’

प्रतिपक्षी दल कन्जरभेटिभ पार्टीबाट तेस्रो पटक काउन्सिलर जितेका लक्ष्य गुरुङ आप्रवासी विरोधी गतिविधि बढ्नुमा सरकारको फितलो अध्यागमन नीति नै प्रमुख रहेको बताउँछन् । सरकारले जनचाहना अनुसार काम नगरेको बताउँदै गुरुङले सार्वजनिक सेवा अस्तव्यस्त, अपराध र बेरोजगारी वृद्धि हुँदा ब्रिटिसहरू निराश बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानका ५१ हजार घर तथा भवनमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीका अनुसार तेहरानको संकट व्यवस्थापनमा काम गर्नै एक संगठनले युद्धका क्रममा क्षति पुगेका घर तथा भवनको संख्या ५१ हजार नाघेको हो । ती भवनमध्ये ६९१ वटामा मर्मतको आवश्यकता छ भने एक हजार ७९१ वटा ...
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोलाको प्रकोपका कारण धेरै मानिसको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्ल्यूएचओले भनेको छ कि लगभग २४६ संदिग्ध घटनाहरू र ८० जनाको मृत्यु रिपोर्ट गरिएको छ, तर यो ‘विश्वव्यापी महामारी आपतकाल’ को श्रेणीमा पर्दैन । ‘संक्रमित व्यक्तिहरूको सही संख्या र रोगको ...
। इरानसँगको शान्ति वार्ता ठप्प भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘समय घर्किंदै गएको’ टिप्पणी गरेका छन् । शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी समेत दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानको समय सकिँदै छ । उनीहरूले तुरुन्त कदम चाल्नुपर्छ, नत्र ...
: अमेरिकाले होर्मुज स्ट्रेटमा इरानविरुद्ध जारी आफ्नो समुद्री नाकाबन्दी र कारबाहीलाई लिएर ठूलो दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड अर्थात् सेन्टकमले शनिबार सार्वजनिक गरेको विवरण अनुसार, इरानी बन्दरगाहहरू तर्फ गइरहेका ७८ वटा व्यावसायिक (कमर्सियल) जहाजहरूलाई बाटोबाटै फर्काइएको छ भने ४ वटा जहाजलाई पूर्ण रूपमा निष्क्रिय बनाइएको छ । सेन्टकमले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मा ...
:विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगो र युगान्डामा फैलिएको इबोला भाइरस संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। डब्लुएचओले मध्य अफ्रिकाभर संक्रमण सीमापार फैलिन सक्ने उच्च जोखिम रहेको चेतावनी दिएको हो। बुन्डिबुग्यो स्ट्रेनको इबोला भाइरसबाट फैलिएको यो संक्रमणका कारण हालसम्म कंगोको इटुरी प्रान्तमा मात्रै ८० जनाको शंकास्पद मृत्यु भएको छ। त्यहाँ आठ जनामा प्रयोगशालाबाट संक्रमण पुष्टि ...