: प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्मामाथि आज संसदीय सुनुवाइ सुरु भएको छ। विधायन व्यवस्थापन समितिको सभाकक्षमा संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेको उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
सत्तापक्षले प्रधानन्यायाधीशमा प्रस्तावित डा. शर्माको आज नै संसदीय सुनुवाइ सक्ने तयारी गरेका छन्। तर विपक्षी दलका सांसदहरुले भने उजुरी खोलेपछि अध्ययन गरेर मात्र सक्नुपर्ने बताएका छन्। सांसदहरुले प्राप्त उजुरी र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना अध्ययन आवश्यक पर्ने भन्दै सुनवाइमा हतार नगर्न सुझाव दिएका हुन् ।
गत वैशाख २४ गते प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। परिषद्ले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लको साटो चौथो रोलक्रममा रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उक्त निर्णय राष्ट्रपतिसमक्ष पठाइन्छ। राष्ट्रपतिबाट प्रधानन्यायाधीशको पदमा नियुक्ति गरिने संवैधानिक व्यवस्था छ।
यता संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेम सिलवाललगायतले रिट निवेदन दायर गरेका थिए। रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो। वैशाख २८ गते दरपीठविरुद्ध अर्को निवेदन पेस भएको थियो। त्यसमा सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश मल्लले दरपीठविरुद्धको निवेदन सोमबार १ बजेभित्र दर्ता गर्न र मंगलबार पेसी चढाउन आदेश दिएकी हुन्। मल्लले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको सिफारिसविरुद्ध परेको रिट तथा दरपीठविरुद्धका निवेदन तत्काल दर्ता गर्न दिएको आदेश कार्यान्वयन भने हुन सकेन। अदालत प्रशासनलाई दिउँसो १ बजेसम्म निवेदन दर्ता गरेर मंगलबार पेसीमा चढाउन आदेश दिएलगत्तै प्रशासनका कर्मचारी कार्यकक्षबाट निस्किएका थिए।