सगरमाथा मानव श्रमसीपको सिर्जना होइन, प्रकृतिले सुम्पिएको सम्पदा हो। यसकै कारण नेपालको पहिचान विश्वमा अग्लो छ। यही हिमाल सन् १९५३ मा पहिलोपटक आरोहण गरेर तेन्जिङ नोर्गे शेर्पाले देशको नाम चम्काएका थिए। उनकै पाइला पछ्याउँदै थुप्रै नेपालीले साहसको प्रतीकका रूपमा पनि आफूहरूसँगै देशलाई चिनाएका छन्।
५६ वर्षीय कामिरिता शेर्पाले जेठ ३ गते सगरमाथामा पाइला टेक्दा उनको आरोहण कीर्तिमान ३२औं पटकमा पुग्यो। यो उनको आफ्नै कीर्तिमान तोड्ने उपक्रममात्रै होइन, यतिका पटक विश्वमा अरू कसैले आरोहण नगरेको ऐतिहासिक उपलब्धि पनि हो। ५६ वर्षको उमेरमा ज्यान हत्केलामा राखेर उनले जुन बाजी जिते, त्यो अदम्य साहसकै प्रतिफल हो। त्यस्तै, ५३ वर्षीया लाक्पा शेर्पाले ११औं पटक सगरमाथा चढेर साहसी महिलाको गौरव लेखेकी छन्। उनले महिला हुनुको नाताले पनि सामाजिक विभेदको हिमाल आरोहण गरेरै सगरमाथा उक्लने सफलता पाएकी छन्।
कामिरिताको आरोहणले नेपालको नाम विश्व पर्वतारोहणमा अवश्य चम्किलो छ, सँगै नेपालको हिमाली पर्यटनमा यसले प्रत्यक्ष, अप्रत्यक्ष ठूलो योगदान पुर्याउने छ। सगरमाथा नेपालसँग मात्रै छ, त्यसैले हिमाली यात्रा र आरोहणका इच्छुकले अर्को गन्तव्यको विकल्प पाउँदैनन्। मात्रै यो साहसी कीर्तिमानको प्रचारचाहिँ जरुरी छ। कामिरिताले ‘सगरमाथा पुरुष’को उपाधि त्यसै पाएका छैनन्, शेर्पा समुदायको हिमालसँगको परम्परागत ज्ञान र अनुशासन उनले समुदायको विरासतसँगै ल्याएको हुनुपर्छ। त्यसमाथि व्यक्तिगत रूपमा उनले जुन आँट र लगनशीलता देखाए, त्यसैको प्रतिफल हो यो सफलता। आफूसँगै देशलाई चिनाउने यी साहसी व्यक्तित्व सबै नेपालीका तर्फबाट बधाईका हकदार त छन् नै, राज्यका तर्फबाट सम्मानका अति सुयोग्य पात्र पनि हुन्। सगरमाथाका कीर्तिमानहरूका बीच राज्यले साहसी सन्ततिको सम्मान राख्न सक्नुपर्छ; नभए जसरी पहिलो आरोही तेन्जिङले मुलुकबाहिर बसाइँ सरेजस्तो हालत बेहोर्नुपर्छ। त्यसो त थुप्रै आरोहीले त्यसो गरेका पनि छन्। त्यसमा राज्य गम्भीर हुनुपर्छ।
सँगसँगै सगरमाथा आरोहणमा विदेशीहरूको आकर्षण बढाउनुपर्छ। त्यसको मतलब यसलाई थोरै शुल्क लगाएर सस्तो बनाउने र केवल राजस्व आम्दानीको दैलोमात्रै बनाउनु हुँदैन। हिमालहरू आफैंमा विश्व तापमान वृद्धिको मारमा छन्। फोहोरको थुप्रोमा पुरिन पनि थालेका छन्। प्रकृतिले दिएको अद्वितीय सम्पदाको लालपुर्जा हामी नेपालीसँग भए पनि खासमा यो संसारकै सम्पदा हो, यसको संरक्षणका लागि विश्वकै ध्यान र लगन चाहिन्छ। त्यसमा नेपाल राज्यले विश्वको ध्यान खिच्नुचाहिँ पर्छ। होइन भने सगरमाथा केवल उचाइमा अग्लो तर प्रतिष्ठा र अस्तित्वमा होचो सावित हुने खतरा हुन्छ। सगरमाथा आरोहण जोखिम त हुँदै हो, तर उद्धार प्रणालीलाई नेपालले चुस्त बनाउन सक्नुपर्छ। व्यापारका लागि मात्रै यो गौरवशाली सम्पदाको प्रयोग हुनु हुँदैन।
हिमालले जसरी हामीलाई ‘चुचुरोमा पुग्नुमात्रै ठूलो कुरा होइन, त्यहाँ टिक्नु वा सकुशल फर्कनु उपलब्धि हो’ भनेर विनम्रता सिकाउँछ; त्यसैगरी उपलब्ध सगरमाथा र आरोहणका कीर्तिहरूलाई सकुशल राख्ने चुनौतीलाई राज्यले विनम्रतापूर्वक सम्बोधन गर्नुपर्छ।