: जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ परेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई पक्राउ गरिएको हो। उनका अनुसार पासवान जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए।
अदालतले उनलाई ज्यान मार्ने उद्योग र डाँका मुद्दामा १० र चोरी मुद्दामा ९ गरेर १९ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतले १ लाख ४० हजार रूपैयाँ जरिबानाको फैसलासमेत गरेको थियो।
अदालतको फैसला अनुसार कैद सजाय भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनको मौकामा फरार भएका थिए। जहदास्थित घरमै लुकिछिपी बसिरहेको अवस्थामा उनलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी डीएसपी लामिछानेले दिए।
पक्राउ गरेर प्रहरीले सोमबार पासवानलाई जिल्ला अदालत मोरङमा पेस गरेको थियो। प्रहरीले बुझाएपछि उनलाई अदालतले कैद सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ चलान गरेको छ।