: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको आरोप उनीमाथि लागेको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गर्दै बिगो दुई लाख कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबी गरेको जनाएको छ।
केही दिनअघि अख्तियारको टोलीले खाम्चालाई २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा घुस लिएको पुष्टि हुन आएपछि उनीविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।