मुख्य समाचार
सांसदका प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले दिएका १० जवाफ
सांसदका प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले दिएका १० जवाफ

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइपछि सर्वसम्मत नाम अनुमोदन भएको छ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । ती उजुरी समेतका आधारमा सांसदहरूले शर्मामाथि सुनुवाइका क्रममा प्रश्न उठाएका थिए । शर्मामाथि संसदीय सुनुवाइमा उठेका मुख्य १० प्रश्न र त्यसमा शर्माले दिएको जवाफको सम्पादित अंश :

एनसेल कर विवादको फैसला के हो ?

सामान्यतया फैसला भइसकेपछि त्यो सार्वजनिक सम्पत्ति बन्छ। फैसलाको बचाउ गर्दै हिँड्नु वा प्रशंसामा रमाउनु न्यायिक मर्यादा अनुकूल हुँदैन। तर, यहाँ समितिमै उजुरीको रूपमा प्रश्न उठेपछि स्पष्ट पार्नु मेरो कर्तव्य हो।

जरिवाना मिनाहाको कानुनी आधार के हो ?

एनसेलको मुद्दामा दुई किसिमका कर र जरिवाना जोडिएका थिए। आयकर ऐनको दफा १२० (क) र (ख) बमोजिम झुटा विवरण पेश गरेको वा कर छलेको अवस्थामा ‘क्रिमिनल लायबिलिटी’ (फौजदारी दायित्व) अन्तर्गत कडा जरिवाना र कैदको समेत प्रावधान हुन्छ।

जरिवाना हटाइनुको कारण के हो ?

एनसेलले आफैँ कुनै झुटा विवरण पेश गरेको वा कर छलेको अवस्था थिएन। सर्वोच्चकै अघिल्लो फैसलाका कारण अर्कैले तिर्नुपर्ने करको दायित्व मात्र एनसेलमा सरेको थियो। उसले सुनुवाइको मौका समेत पाएको थिएन। त्यसैले, कानुन र स्थापित न्यायिक सिद्धान्तबमोजिम फौजदारी दायित्व अन्तर्गतको जरिवाना (कुल रकमको केही प्रतिशत) मात्र हटाइएको हो। बाँकी लाग्ने कर, नियमित जरिवाना र विलम्ब शुल्कहरू सम्पूर्ण कायम राखी असुल गरिएको छ। यो निर्णय प्रचलित कानुनसम्मत नै छ।

बार-बेन्च द्वन्द्व किन भइरहेको छ ?

अहिले बार र बेन्च (न्यायाधीशहरू) बीच कुनै द्वन्द्व छैन। अदालतको प्रशासन र बारबीच वातावरण अलिकति असमझदारीपूर्ण देखिएको मात्र हो।

रिट दर्ता र दरपीठ किन रोकेको ?

ममाथि कर्मचारीलाई मौखिक आदेश दिएर रिट दर्ता वा दरपिठ रोकेको भन्ने जो आरोप छ, त्यो पूर्णतः सत्य होइन। रिट दर्ता गर्ने वा दरपिठ गर्ने काम विशुद्ध प्रशासनिक कार्य हो। यसमा मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू आफ्नो विवेक प्रयोग गर्न पूर्ण रूपमा स्वतन्त्र हुनुहुन्छ। न्याय प्रशासनले आफ्नो क्षेत्राधिकारभित्र रहेर गरेको कार्यमा मेरो कुनै हस्तक्षेप वा टिप्पणी छैन।

सिफारिसमा वरिष्ठताको वरीयता किन मिचियो ?

हाम्रो संविधानले प्रधानन्यायाधीशको पदलाई ‘बढुवा’ को रूपमा नभई ‘नियुक्ति’ को रूपमा व्याख्या गरेको छ। त्यसैले यसमा वरिष्ठता मात्रै एकमात्र बलियो आधार हुन सक्दैन । संवैधानिक परिषद् जस्तो उच्च निकायले आफ्नो प्रक्रिया पूरा गरेर सिफारिस गरिसकेको विषयमा मैले थप बोलिरहनु पर्दैन।

तपाईं पनि नेपोबेबी हो ?

म कुनै पारिवारिक नाताका कारण यहाँ आइपुगेको होइन । म आफ्नो योग्यता र क्षमताले उच्च अदालत (तत्कालीन पुनरावेदन अदालत) को न्यायाधीश बनेको थिएँ। संविधान परिवर्तनपछि पद रिक्त हुँदा पुनः कानुन व्यवसायमा फर्केर आफ्नो क्षमता प्रमाणित गरी सर्वोच्चमा आएको हुँ। पारिवारिक नाता भएकै कारण कोही व्यक्ति पदका लागि अयोग्य हुन्छ भन्ने कानुनी वा न्यायिक मान्यता कतै छैन । मानिसहरू आफ्नो धारणा बनाउन स्वतन्त्र छन्, यो उहाँहरूले बनाएको एउटा धारणा मात्र हो।

पीएचडी थेसिसमा बौद्धिक चोरी र ७० लाखको लेनदेन के हो ?

ल क्याम्पसका प्राध्यापकले विद्यावारिधिको थेसिस लेखिदिएको (बौद्धिक चोरी) भन्ने दाबी र चोलेन्द्र शमशेरका भतिजोसँग ७० लाखको लेनदेन गरी मुद्दा हारेपछि रकम फिर्ता गरेको भन्ने उजुरीहरू पूर्णतः निराधार र मनगढन्ते हुन् । यी सबै आरोपहरू मलाई बदनाम गराउनका लागि धारणा बनाएर लगाइएका कुराहरू मात्र हुन्, यसमा कुनै पनि सत्यता छैन।

न्यायालयमा विकृति र बिचौलिया रोक्न के गर्नुहुन्छ ?

पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको आयोगको प्रतिवेदनले औँल्याएका धेरै कुराहरू अहिले ट्र्याकमा आइसकेका छन्, बाँकी कुराहरू पनि सुधारको क्रममा छन्। न्यायालयमा हुने ढिलासुस्ती, बिचौलियाको प्रभाव र म्याद तामेलीका विकृतिहरूलाई रोक्न ‘इ-कोर्ट’ र लाइभ स्ट्रिमिङ (बहसको प्रत्यक्ष प्रसारण) को अवधारणा ल्याइएको छ। प्रविधिको प्रयोग हुनासाथ सम्पूर्ण प्रक्रिया पारदर्शी देखिन्छ ।

संसदीय सुनुवाइ कार्यविधि अनुसार चौमासिक रिपोर्ट सार्वजनिक गर्नुहुन्छ ?

सर्वोच्च अदालतले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष र त्यहाँबाट प्रधानमन्त्री कार्यालय हुँदै संसद्‌मा पठाउने नियमित कानुनी व्यवस्था छँदैछ। संसदीय सुनुवाइ कार्यविधिको बुँदा नं २९ को मर्मलाई आत्मसात गर्दै, मेरो कार्ययोजना अनुसार देशभरका अदालतहरूबाट भएका प्रगति र कार्यसम्पादन विवरणलाई प्रत्येक चार-चार महिनामा (चौमासिक रूपमा) सर्वोच्चको वेबसाइटमा सार्वजनिक गर्न म पूर्ण प्रतिबद्ध छु। यसमा शङ्का गर्नुपर्ने कुनै ठाउँ छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार बारको प्राङ्गणमा लालटिन बालेर सर्वोच्च प्रशासनको कामकारबाहीप्रति भद्र विद्रोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सेटिङकै लागि लामो समयसम्म प्रधानन्यायाधीश बन्न सक्ने व्यक्तिको नाम सिफारिस गरिएको बताए । ‘न्यायिक प्रक्रियालाई नबिथोल्न सरकार म आग्रह ...
। रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे । छलफल चलिरहँदा ...
। नेपालका कतिपय सार्वजनिक संस्थान १७ वर्षदेखि लेखा परीक्षण नगरी सञ्चालनमा रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपाल ओरिएन्ड म्याग्नेसाइटले १७ वर्षदेखि लेखा परीक्षण गराएको छैन । उसले आर्थिक वर्ष २०६४/६५ देखि लेखा परीक्षण गराएको छैन । त्यस्तै साझा प्रकाशनले १२ वर्षदेखि लेखा परीक्षण नगराएको महालेखाको ६३औं प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बीमा संस्थानले ...
। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । सांसद गणेशबहादुर विश्वकर्माले कम ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ । एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो । भेटघाटको क्रममा उनीहरुबीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको ...