। नेपाल पर्यटन बोर्डले छोटो गन्तव्य केन्द्रित दृश्यात्मक भिडियो सामग्री मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन थालेको छ ।
अभियान अन्तर्गत बोर्डले हालसम्म लाङटाङ ट्रेक, गोसाइँकुण्ड, बन्दीपुर, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया लगायत नेपालका विभिन्न पर्यटन गन्तव्य तथा अनुभव सम्बन्धी प्रवर्द्धनात्मक भिडियो सामग्री सार्वजनिक गरिएको जनाएको छ ।
अन्य सामग्री निर्माण क्रममा रहेको समेत जनाइएको छ । अभियान अन्तर्गत कुल २५ वटा लक्षित प्रवर्द्धनात्मक भिडियो सामग्री निर्माण तथा प्रसारण गर्ने योजना रहेको बोर्डले जनाएको छ ।
चिनियाँ बजार लक्षित गर्दै नेपाल पर्यटन बोर्डले चीनस्थित नेपाली दूतावाससँगको सहकार्यमा टिकटकको चिनियाँ संस्करण डोउयिन मार्फत पनि विशेष प्रवर्द्धन अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत चिनियाँ दर्शक तथा पर्यटक लक्षित गरी चिनियाँ भाषा, श्रव्यदृश्य डिजिटल सामग्री निर्माण तथा प्रसारण गरिँदै छ ।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले डिजिटल प्ल्याटफर्महरू विश्वव्यापी पर्यटन प्रवर्द्धनका लागि विशेषत: युवा तथा अनुभवमुखी यात्रुमाझ अत्यन्त प्रभावकारी माध्यमका रूपमा स्थापित भइरहेको बताए ।
टिकटक तथा डोउयिन जस्ता प्ल्याटफर्म मार्फत गरिने डिजिटल अभियानले नेपाललाई विश्वव्यापी दर्शकमाझ अझ प्रभावकारी, सहज तथा आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
पर्यटन बोर्ड अन्तर्राष्ट्रिय प्राथमिकताप्राप्त बजारहरूमा नेपालको विविध पर्यटन अनुभव प्रवर्द्धनका लागि नवीन डिजिटल माध्यम उपयोगप्रति प्रतिबद्ध रहेको बताएको छ ।
बोर्डले यस्ता अभियानहरूले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन दृश्यता अभिवृद्धि गर्नुका साथै डिजिटल माध्यमसँग आबद्ध विश्वभरिका यात्रुमाझ नेपालप्रति आकर्षण तथा गन्तव्य चेतना विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको समेत जनाएको छ ।