। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ ।
एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।
भेटघाटको क्रममा उनीहरुबीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा छलफल भएको छ ।
कानून कार्यान्वयन गराउने प्रमुख जिम्मेवारी बोकेको निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा वृहत छलफल भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।