: झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोकका २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन्। उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ।
गत जेठ ४ गते राति करिब ९:१५ बजे एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा काजल र अर्जुनधारा–५ कञ्चनबाडी निवासी २४ वर्षीय किरण गौतम अत्यधिक मदिरा सेवन गरी बसेका थिए। सोही क्रममा उनीहरूबीच कुनै विषयमा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए।
धकेल्ने क्रममा काजल चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोकिँदा टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी थिइन्। बेहोस अवस्थामा रहेकी उनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्याएका थिए। पछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो।
उनको उपचारकै क्रममा आज बिहान ४:४० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।