— कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र अब ६०/४० को भागबण्डा नचल्ने बताएका छन् । मधेस प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि केन्द्रमा, संसदीय दलमा र भातृसंस्थाहरूमा जिम्मेवारी दिने काम भएको भन्दै ६० र ४० को भागबण्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए ।
क्रियाशील सदस्यता अद्यावधीलाई लिएर संस्थापन इतरपक्षले गरिरहेको अवरोधकाप्रति पनि शर्माले असन्तुष्टि जनाए । ‘इगोको चश्मा उतारेर हेरौं तपाईंको वडामा क्रियाशील सदस्यता अधावधिक गर्न गगनकुमार थापा पुग्ने होइन, तपाईंकै वडाको सभापतिले गर्ने हो ।’ उनले संविधान संशोधन गर्दा ०६२/६३ को आन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलनलगायतले स्थापित गरेका उपलब्धिहरू खण्डित हुनु नहुने बताए । ‘त्यसबेला संविधानसभामा रहेका तर अहिले प्रतिनिधिसभामा नरहेका मधेस केन्द्रित दलहरूको भावना समेत जोड्न सक्नुपर्छ,’ उनले भने ।