— रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्मा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको बताए ।
मन्त्रीहरूले सम्बन्धित मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत बताए । संसद्मा उठेका सबै प्रश्नको जवाफ दिनेगरी सरकारले तयारी गरिरहेको उनको भनाइ छ ।
‘मूलतः सरकारमाथि उठेका प्रश्नको जवाफ संसद्मा सरकारले दिने हो । त्यसको आधारमा सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्मा जवाफ दिने तालिका बनाइराखेको छ । केही मन्त्रीहरूको आजभोलिको तालिकामा परेको भन्ने पनि मैले जानकारी पाएको छु । प्रधानमन्त्रीज्यूको तालिका भनेर आउनेभन्दा पनि तयारीअनुसार आउँछ,’ उनले भने ।
लामो समयदेखि प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।