— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् ।
बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ बनाउने र सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योगको रूपमा विकास गर्ने लक्ष्य राखेको बताएका छन् ।
यसअघि शासकीय सुधारका ‘सय बुँदे कार्यसूची’ मार्फत सरकारले डिजिटल शासन र युवा रोजगारीलाई मुख्य आधार मानेको थियो । यसै सन्दर्भमा मन्त्री तिमिल्सिनाले संसद्मा भने, ‘दुर्गम क्षेत्रमा बसेर काम गर्न सकिने डिजिटल वर्क हब तथा कम्युनिटी आईटी सेन्टर स्थापना गर्नुपर्ने सुझाव मननीय छ । रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको एवं नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा रहेको छ ।’
सरकारले आगामी दशकलाई आर्थिक सुधारको शृङ्खलाका रूपमा अघि बढाउँदै श्रम-निर्यातमा निर्भर अर्थतन्त्रलाई डिजिटल व्यापार र रिमोट वर्कमा आधारित सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना बनाएको छ । दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा विस्तार गरी डिजिटल नेपालको लक्ष्यलाई व्यवहारमा उतार्न सरकार प्रतिबद्ध रहेको मन्त्रीको भनाइ छ ।
‘खुकुलो र पारदर्शी नियमन तथा नियामकको व्यवस्था, करको दर पुनरावलोकन तथा इन्ट्री बेरियर हटाई इन्टरनेट सञ्जालको व्यापक विस्तार गरिनेछ,’ उनले भने, ‘यस सन्दर्भमा सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक र एआई विधेयकहरू तयारी तथा तर्जुमाको चरणमा रहेका छन् ।’
रिमोट वर्कसँगै डिजिटल नोम्याड (डिजिटल घुमन्ते)हरूलाई आकर्षित गर्न उपयुक्त भिसा, बसोबास र सहकार्य केन्द्रसम्बन्धी नीतिगत व्यवस्था गर्ने सरकारको योजना छ ।